महामारीले श्रमिक थप मारमा

24 Jun, 2021

पहिलो र दोस्रो लहरको कोरोना महामारीपछि वैदेशिक रोजगारीमा गएका श्रमिक थप मारमा परेको सरोकारवालाहरूले औंल्याएका छन्। सोमबार मानव अधिकारका लागि जनमञ्चले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा बोल्दै श्रमिकको हक र हितको पक्षमा काम गर्दै आएकाहरूले महामारीमा विदेशिएकाहरू पहिलाको तुलनामा बढी मारमा परे पनि उनीहरूलाई सहयोग प्राप्त हुन नसकेको गुनासो गरे। 

जनमञ्चका सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेलले महामारीको बेला श्रमिकलाई श्रम स्वीकृति लिनदेखि वैदेशिक रोजगारीमा जान र फर्कनसम्मको समस्या परेको बताए। ‘यही बेला कैयन श्रमिकले नियमित पाउनुपर्ने पारिश्रमिक पनि पाउन सकेका छैनन्,’ उनले भने, ‘अनुगमन नहुँदा वैदेशिक रोजगारीको पर्यायवाची जस्तो देखिएको ठगी पनि बढेको छ।’ 

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले निषेधाज्ञाको अवधिमा श्रमिकलाई आवश्यक सेवा उपलब्ध गराइरहेको जानकारी गराउँदै अन्तर्राष्ट्रिय हवाई उडान सुचारु भएपछि सहज हुने बताए। श्रमिकले भोग्ने गरेका समस्या समाधानका लागि विभिन्न गन्तव्य मुलुकमा रहेका नियोगसँग समन्वय भइरहेको उनले बताए। ‘यस्तो बेला जस्तो खालको उद्धार हुनैपर्ने थियो, त्यस्तो चाहिँ हुन सकेन,’ उनले भने। वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई विभागको २४ घन्टा खुला रहने हेल्पलाइनको व्यवस्था गरिएको जानकारी दिँदै उनले उद्धारका लागि कार्यदल पनि गठन गरिएको बताए। 

सोही कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले पहिलो लहरको महामारीको तुलनामा दोस्रो लहरमा समस्या कम आएको र उद्धार पनि कम भएको जानकारी दिए। पहिलो लहरको महामारीको बेला विभिन्न मुलुकबाट करिब साढे एक लाख फर्किएको परराष्ट्र मन्त्रालयको तथ्यांक छ। यसमा भारतबाट फर्कनेको विवरण समावेश गरिएको छैन।

विज्ञहरूले महामारी नियन्त्रणमा आउँदै गर्दा पुनः वैदेशिक रोजगारीमा जाने क्रम बढ्ने भएकाले भर्ना प्रक्रियालाई सहजीकरण गर्न आवश्यक रहेको बताए। महामारी नियन्त्रणमा आएपछि वैदेशिक रोजगारीमा जाने क्रम पुनः बढ्ने धेरैको अनुमान छ। पहिलो लहरको कोरोना महामारी सुरु भएदेखि नै विदेश जानेको संख्या घटेको छ। वैदेशिक रोजगारीमा जान नपाएकाहरू गन्तव्य मुलुकबाट माग आउनेबित्तिकै जान थाल्ने धेरैको अनुमान छ। सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने निर्णय गरेकाले अब गन्तव्य मुलुकबाट पनि कामदारको माग आउने व्यवसायी बताउँछन्। 

सय श्रमिक पठाउन नसक्ने म्यानपावरलाई पुनः समस्या

हरेक आर्थिक वर्षमा एक सय कामदारलाई वैदेशिक रोजगारीमा पठाउनु पर्ने नियमले यो वर्ष पनि म्यानपावर समस्यामा पर्ने देखिएको छ। चालु आर्थिक वर्षमा कम्तीमा एक सय श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको विवरणसहित नवीकरणका लागि विभागले सूचना प्रकाशित गरेपछि समस्या सिर्जना भएको म्यानपावर व्यवसायीको भनाइ छ। 

अघिल्लो आर्थिक वर्ष पनि अधिकांश म्यानपावर व्यवसायीलाई कम्तीमा एक सय श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन कठिन भएको थियो। पछि मन्त्रिपरिषद्ले एक सय नपठाए पनि नवीकरण हुने निर्णय गरेर त्यो वर्षको समस्या समाधान गरेको थियो। यो वर्ष कसरी समस्या समाधान गर्ने भन्नेबारे अहिलेसम्म कुनै उपाय फेला नपरेको एक व्यवसायीले बताए। उनका अनुसार आधा भन्दा बढी म्यानपावरले यो वर्ष सय श्रमिकलाइ वैदेशिक रोजगारीमा पठाउन सकेका छैनन्। हाल म्यानपावरको कुल संख्या आठ सय ५४ छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024