महाकालीपारि भारतीय क्वारेन्टाइनमा रहेका एकहजार नेपाली फिर्ता ल्याउन पहल

14 Apr, 2020

लोकेन्द्रप्रसाद जोशी

दार्चुला, वैशाख २ गते । महाकालीपारि भारतीय धारचुलाको विभिन्न क्वारेन्टाइनमा दुई सातादेखि कष्टपूर्ण दैनिकी बिताइरहेका एकहजार ६१ नेपालीलाई दार्चुला ल्याउन पहल भइरहेको छ । 

जिल्ला कोरोना भाइरस व्यवस्थापन समितिको बैठकले खलंगामा एकहजार बढी नेपाली राख्न सकिने नसकिने विषयमा अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिलाई निर्देशन गरेको छ । 

अहिले धारचुलामा दार्चुलाका २२६ जना, बैतडीका ४२२ जना, बझाङका २७१ जना, कैलालीका ६९ जना, डडेल्धुराका २३ जना, अछामका १८ जना, कञ्चनपुरका ११ जना, डोटीका १ जना, सुर्खेतका १५ जना, जाजरकोटका ३ र दैलेखका २ जना नेपाली रहेका छन् । 

सीमामा रोकिएका सबैलाई खलंगामा राख्न सकिने सम्भावना न्यून भएकाले धारचुलाबाट उद्धार गरेर सम्बन्धित जिल्लामा पठाउन केन्द्रिय कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र छाउनी काठमाडांैलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024