मलेसिया जेलमा १ सय २ नेपाली

4 Jul, 2012

रामचन्द्र गिरी

वैदेशिक रोजगारीका निम्ति मलेसिया आएका नेपाली विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका छन् ।धन कमाउने सपना बोकेर यहाँ आएका एक सय दुई जना नेपाली कम्पनीमा कामका सिलसिलामा हुने सामान्य विवाददेखि व्यक्ति हत्यासम्मका अभियोगमा जेलको चिसो छिँडीमा पुगेका हुन् ।यहाँस्थित नेपाली दूतावासका अनुसार मलेसियाका १९ वटा जेलमा नेपाली छन् । जसमा ११ वर्षदेखि जेल सजाय भोगिरहका पनि छन् ।

लागू पदार्थ कारोबार एवं प्रयोग अभियोगमा ११, हत्यामा २, अपहरणमा २, झैझगडा र आपराधिक क्रियाकलापमा संलग्न भएको लगायतका आरोपमा ३४ जना जेलमा रहेको दूतावासले जनायो । दूतावासका अनुसार कम्पनीमा काम गर्दा निर्देशन नमानेकै अभियोगमा एक नेपाली मुद्दा खेपिरहेका छन् । चोरी डकैती गरेको अभियोग लागेका १५ जना छन् । मानप्रतिष्ठामा आँच पुर्‍याएको भन्दै ४ र धारिलो हातहतियार प्रयोगसम्बन्धी अभियोगमा १२ जना जेलमा छन् । अवैध रूपमा मलेसिया प्रवेश गरेकामा १६ र गैरकानुनी रूपमा बसेकामा ५ जनाले मुद्दा खेपिरहेको दूतावासले जनायो ।  

जेलमा रहेका अधिकांश सजाय कटाउन बसिरहेका छन् भने अन्य मुद्दाको फैसला पर्खिरहेछन् । भाषासम्बन्धी ज्ञानको अभाव, साथीभाइसितको कुलत र छिटै धनी बन्ने महत्त्वाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेको दूतावासका एक अधिकारीले बताए । लहलहैमा लागेर नेपाली कामदार जेल पर्न थालेपछि दूतावासले साथीभाइसँग कुलतमा नलाग्न र सजकता अपनाएर काम गर्न नेपालीहरूलाई आग्रह गरेको छ । जेल पर्नेमध्ये कतिपयले आफूमाथि झूटो आरोप लगाएको भन्दै मुद्दा लडिरहेका छन् । स्रोतका अनुसार मुद्दा लड्दा मलेसियाद्वारा नै वकिलको प्रबन्ध मिलाइएको हुन्छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024