मलेसियाले आंशिक रूपमा लैजान थाल्यो आप्रवासी श्रमिक

15 Nov, 2024

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाले फेरि आंशिक रूपमा आप्रवासी श्रमिक लैजान थालेको छ।

म्यानपावर व्यवसायीहरूको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलका अनुसार अहिले मलेसियाले कृषि, प्लान्टेसन, मार्ट तथा सेक्युरिटी गार्ड गरी चार क्षेत्रमा श्रमिक लैजान सुरू गरिसकेको छ।

बंगलादेश लगायत अन्य मुलुकले श्रमिक पठाउन थाले पनि मलेसिया स्थित नेपाली दूतावासले भने त्यहाँको मागपत्र प्रमाणीकरण नगरिदिएका कारण नेपाली श्रमिक पठाउन नसकिएको व्यवसायी भुर्तेलले बताए।

‘दूतावासमा पुरानो कर्मचारीको समय सकिएको र नयाँ जानै बाँकी भएको भनेर मागपत्र प्रमाणीकरण गरिदिएको छैन। यसले गर्दा त्यहाँ माग भएर पनि हामीले पठाउन सकेका छैनौं,’ उनले भने।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरूदत्त सुवेदीले पनि मलेसियाका लागि नयाँ श्रम स्वीकृति जारी नभएको बताए।

कहिलेदेखि मलेसियामा नयाँ श्रमिक पठाउन सकिन्छ भन्नेबारे केही जानकारी समेत आफूलाई नभएको पनि उनले बताए।

दूतावासले मागपत्र प्रमाणीकरण छिटो नगरिदिँदा प्रतिस्पर्धी मुलुकले पठाउन थालिसकेको नेपालीहरूको भने राम्रो अवसर गुमिरहेको व्यवसायीहरूको गुनासो छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024