मलेसियामा श्रमिकलाई आलोपालो ड्युटी

15 Jan, 2021

होम कार्की

काठमाडौँ — मलेसियामा कोरोना भाइरसको महामारी देखिएपछि अधिकांश रोजगारदाता कम्पनीले श्रमिकलाई फेरि आलोपालो ड्युटी (काम) लगाउन थालेको छ ।

मलेसियाले मुलुकको आर्थिक अवस्था जोगाउन भन्दै मंगलबारदेखि लागू हुने गरी स्वास्थ्य संकटकाल र पाँच राज्यमा आगमनमा नियन्त्रण (एमओसी) जारी गरेपछि रोजगारदाताले सीमित संख्यामा श्रमिकलाई काममा लगाउन थालेका हुन् । यो संकटकाल अगस्ट १ सम्म लागू हुनेछ ।

नेपाली श्रमिकको मुख्य बसोबास रहेको पेनाङ, सेलाङगार, मेलाका, जोहोर र सवाह क्षेत्रमा आवागमनमा नियन्त्रण लगाइएको हो । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले रोजगारदाता कम्पनीले आवश्यकता हेरी ३० प्रतिशत श्रमिकलाई मात्रै काममा लगाउन गरेको बताए । ‘मलेसियाका सबै क्षेत्रमा रहेका रोजगारदाता कम्पनीले ३० प्रतिशत मात्रै श्रमिकलाई काममा लगाउने स्थिति बनिसकेको छैन, यो अवस्था हेरेर भइरहेको छ,’ पाण्डेले भने ।

‘पहिला महिनामा २६ दिन काम गरिन्थ्यो, अब १६ दिनमा झरेको छ । आफैंले खाना बनाउन पाइँदैन । बाहिरबाट ल्याउनुपर्छ । खानाका लागि मात्रै महिनामा ८ हजार रुपैयाँ सकिन्छ । अब कति जोगाएर घर पठाउने ?’ रौतहटका रिहान सवारले भने । जोहोरवारुमा ६ वर्षदेखि कार्यरत झापाका रक्की श्रेष्ठले कम्पनीले दिन बिराएर आलोपालो गर्न थालेको बताए ।

‘हाम्रो कम्पनीमा झन्डै ५ हजार नेपाली छन्, सबैलाई एकै ठाउँमा राखिएको छैन । उनीहरूले झन्डै १२७ ठाउँमा काम गर्नुपर्छ । अब भने सबैलाई आलोपालो काममा लगाउने तयारी गरेका छन,’ उनले भने, ‘जति दिन काम गरेको हो, त्यति दिन मात्रै पैसा आउँछ ।’ आलोपालो काम सुरु भएपछि तलबको समस्या फेरि बढ्ने पाण्डेले बताए । ‘गत अप्रिलतिर पनि श्रमिकलाई आलोपालो रूपमा काममा लगाइएको थियो । त्यतिखेर न्यूनतम तलब नपाउने समस्या देखियो । यो समस्या फेरि बल्झेलाजस्तो छ । फेरि तलब दिलाउन रोजगारदाता कम्पनीहरूसँग पहिलाझैं समन्वय गर्न आवश्यक छ,’ उनले भने ।

मलेसियामा दैनिक २ हजार जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि नियन्त्रणका लागि सरकारले स्वास्थ्य संकटकाल लगाएको घोषणा गरेको उनले बताए । ‘संकटकाल लगाएपछि स्वास्थ्य प्रोटोकललाई लागू गर्दै दैनिक आर्थिक गतिविधि गर्न पाइने भनिएको छ । यसको विस्तृत पाटो अझै आइसकेको भने छैन,’ उनले भने ।

एमओसी लागू भएपछि भने स्वदेश फिर्न चाहने नेपाली श्रमिकलाई भने कठिनाइ हुने देखिएको छ । ‘अहिले घर फिर्ती कार्यक्रम चलिरहेको छ । अब उनीहरू दूतावाससम्म कसरी आउने, विमानस्थलसम्म कसरी पुग्ने भन्ने समस्या देखिएको छ,’ उनले भने ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024