मलेसियामा रोजगारी गुमाएर फर्किए डेढलाख नेपाली

5 Sep, 2021

नेपालीहरुको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियामा कोभिड महामारीका कारण डेढलाख नेपालीले रोजगारी गुमाएका छन्।

गैरआवासीय नेपाली संघ मलेसियाका निवर्तमान अध्यक्ष हरिप्रसाद भट्टराईका अनुसार दोस्रो चरणको महामारीपछि २७ हजार नेपाली रोजिरोटी गुमाएर फर्किसकेका छन्।

‘त्यहाँ विशेषगरी सेवा क्षेत्रमा कार्यरत नेपालीहरुको काम गुम्यो,’ उनले भने, ‘अहिले मलेसियाबाट दैनिक पाँच सय श्रमिकहरु फर्किराखेका छन्।’

महामारीको समयमा रोजगारीमा रहेका धेरैजसो श्रमिकहरुले पुरा पारिश्रमिक समेत नपाएको उनले बताए।

त्यस्तै मलेसियामा रहेका ठूलो संख्यामा नेपालीहरु कोरोना संक्रमित भएको एनआरएनएले जनाएको छ। कोभिडका कारण १ सय ६ नेपालीले ज्यान गुमाइसकेका छन्।

उनकाअनुसार थुप्रै नेपालीहरु विभिन्न कसुरमा जेल सजाय भोगिरहेका छन्। कोरोनाबाहेक विभिन्न कारणले ज्यान गुमाएका ९ शवहरु केही दिनयता मलेसियामै अड्किएको अवस्था छ। 

‘वाइडबडी जहाज गएको छैन। जसले गर्दा शवहरु थुप्रिएका छन्,’ उनले भने। 

पछिल्लो समय मलेसियामा कोभिड महामारी बढ्दै गएका कारण विदेशी नागरिकहरु प्रवेशमा कडाइ गरिएको छ। 

नेपाली श्रमिकहरु मलेसिया जान पाएका छैनन्। जोखिम कायमै रहेकाले तत्काल मलेसियाले नेपाली श्रमिकहरु लैजाने अवस्था नरहेको भट्टराईले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024