मलेसियामा फ्रोजन मःमः बनाएको देखे, फर्केर २६ लाखमा खोले आफ्नै उद्योग

29 Mar, 2023

दिपकजंग शाही

सेनाको जागिरबाट अवकास पाएपछि सुरू गरेको किराना पसलबाट नाफा नै थियो। कालीकोटका दानबहादुरले २०५९ सालतिर सुर्खेतमा यो व्यवसाय सुरू गरेका थिए।

नाफा राम्रो भएपछि उनले मालबाहक गाडी किने। ढुवानीको काम पनि सँगसँगै गरे। जब ढुवानीको काम थाले, घाटा हुन थाल्यो। आखिरमा उनले व्यापारै छोड्ने भए। लागेको ऋण तिर्न उनी वैदेशिक रोजगारीका लागि मलेसिया उडे।

२०७० सालमा मलेसिया गएका उनी त्यहाँ पाँच वर्ष बसे। त्यहाँ एउटा सरकारी स्वामित्वको कम्पनीमा सुरक्षा गार्डको काम पाएका थिए। कम्पनीको आडैमा थियो मःमः उद्योग। त्यहाँ मेसिनबाट ‘फ्रोजन मःमः’ बन्थ्यो।

दिनहुँ मःमः बनेको देखिरहेका दानबहादुरलाई एउटा आइडिया फुर्‍यो— नेपाल फर्केर सुर्खेतमा यस्तै उद्योग खोल्न पाए!

‘मःमः उद्योगमा नेपाली कर्मचारी भएकाले मलाई त्यहाँ भित्र गएर हेर्न दिन्थे। मैले लामो समयसम्म दिनहुँ गएर फ्रोजन म:मः बनाएको हेरेँ,’ दानबहादुरले भने, ‘मलाई त्यो राम्रो लागेको थियो। नेपाल गएर यस्तै गर्नुपर्छ भन्ने आइडिया आएको थियो।’

वैदेशिक रोजगारीका लागि भएको सम्झौता पूरा गरेर उनी २०७५ सालमा फर्किए। काठमाडौं आएर फ्रोजन म:मः बनाउने उद्योगहरू भ्रमण गरे। उद्योगी र कर्मचारीहरूसँग भेटेपछि उनी सुर्खेतमा पनि यो व्यवसायले बजार पाउँछ भन्नेमा ढुक्क भए।

मलेसियाबाट फर्किएदेखि सुरूका तीन वर्ष आफन्तको उद्योग साझेदारी गरेर चलाए। त्यो उद्योगमा हातैले मःमः र चाउमिन उत्पादन गरिन्थ्यो। यसपछि भने दानबहादुरले मलेसियामा देखेजस्तै मेसिनबाट मःमः र चाउमिन बनाउने उद्योग खोल्ने निर्णय गरे।

अनि गत असारमा उनले आफ्नै उद्योग खोले।

‘सुरूमा बनाउन नजानेर हैरान भयो। कति कच्चा पदार्थ खेर फालियो,’ उनले भने, ‘पछि काठमाडौंबाट यस्तो काम जानेको व्यक्तिलाई बोलाएँ र सिकाइदिन भनेँ। अहिले राम्रै भएको छ।’

दानबहादुरका अनुसार काठमाडौंबाट सुर्खेत आएका प्रशिक्षकले सात दिनसम्म म:मः र चाउमिन उत्पादन गरी फ्रोजन गर्न सिकाएका थिए। प्रशिक्षकलाई होटलमा राख्न र यात्रा गराउन ३६ हजार रूपैयाँ खर्च गरेको उनी बताउँछन्।

त्यति गरेपछि मःमः स्वादिष्ट बन्यो। तर भाँडामा टाँसिने समस्या आयो। त्यसका लागि उनी फेरि काठमाडौं गए। त्यहाँका दुई/तीन वटा उद्योग पुगेर यो समस्या सुनाए। उनीीहरूले मःमः उसिन्ने भाँडोमा राख्ने जाली लिन सिफारिस गरे।

‘त्यो जाली भाँडामाथि राखेर मःमः हाल्यो भने टाँसिने र फुट्ने समस्या नहुने रहेछ,’ उनले भने।

दानबहादुरले बनाएको मःमः किन्ने पसलहरूमा त्यस्ता जाली सुरूमा निःशुल्क वितरण गरे। पछि त बजारमा मःमः र चाउमिनको मात्र होइन, जालीको पनि माग बढ्यो। त्यसैले उनले मूल्य लिएर बेच्न थाले।

अहिले दानबहादुरले आफ्नी श्रीमती लिलावती रोकायाका नाममा ‘सुर्खेत फ्रोजन मःमः फुड हाउस’ कम्पनी दर्ता गरेका छन्। उनको उद्योगबाट दैनिक औसत तीन सय प्लेट म:मः बजारमा जान्छ। कम्तीमा पनि सय प्लेट बिक्छ। पाँच प्लेट मःमः बराबरको एक प्याकेट बनाएर बेच्छन्।

सातामा दुई दिनबाहेक पाँच दिन कुखुराको (चिकेन) मःमः बनाइन्छ। अरू दुई दिनमध्ये एक दिन खसीको (मटन) र भेज म:मः बनाउने गरेको उनले बताए।

फ्रोजन मःमः एक प्याकेट भेज दुई सय रूपैयाँ, चिकेन तीन सय र मटन पाँच सय रूपैयाँमा बेचिरहेको दानबहादुरले बताए। चिकेन मःमः धेरै बिक्ने भएकाले उत्पादनमा पनि त्यसलाई प्राथमिकता दिइएको हो।

यस्तो फ्रोजन मःमःको उपभोग्य मिति बनेको दिनदेखि ९० दिनसम्म हुन्छ। तर आफ्नो उद्योगमा बढीमा एक साता मौज्दात रहने उनले बताए।

यस्तै चाउमिन पनि दैनिक दुई सय किलो बिक्छ हुन्छ। चाउमिन किलोको ९० रूपैयाँमा बेच्छन्। यो भने बनेको तीन दिनभित्रै उपभोग गरिसक्नुपर्छ।

‘महिनामा सरदर दुई लाख ५० हजारको मःमः र साढे पाँच लाखको चाउमिन बिक्री भइरहेको छ,’ दानबहादुर भन्छन्, ‘काठमाडौंबाट ल्याएको परौठा (रोटी) र नेपालगञ्जबाट ल्याएको चिकेन ससेज पनि केही मात्रामा बिक्छ। सुरूका दिनमा जम्मा तीन प्याकेट म:मः बेचेको थिएँ। एक वर्ष पनि पुगेको छैन, बजार माग निकै बढेको छ।’

उनको उद्योगमा अहिले मःमःको किमा बनाउनेदेखि प्याकिङ गर्नेसम्मको काम मेसिनबाटै हुन्छ। चाउमिन पनि मेसिनबाटै बन्छ। उत्पादित वस्तु उनी आफैंले पसलसम्म पुर्‍याइदिन्छन्।

दानबहादुरका अनुसार उद्योग खोल्न २६ लाख रूपैयाँ लगानी भएको छ। मासिक ९ लाख रूपैयाँसम्मको कारोबार हुन्छ। उद्योगमा अहिले ६ जना कर्मचारी छन्।

‘कर्मचारीको तलबमा ७५ हजार रूपैयाँ खर्च हुन्छ। अरू पनि खर्च जोड्ने हो भने धेरै बचत हुने खालको आम्दानी त छैन,’ उनले भने, ‘नयाँ उद्योग भएकाले केही समय लाग्ला नाफामा जान। अहिलेसम्म कम्पनीको र परिवारको खर्च धान्न सजिलै छ।’

सुर्खेतमा बिजुलीको समस्याले भने बेलाबेला काम रोक्नुपर्ने अवस्था हुने उनी बताउँछन्।

‘कहिलेकाहीँ मेसिनै नचल्ने भोल्टेज हुन्छ। त्यो बेला कामै रोकेर बस्नुपर्छ,’ दानबहादुरले भने, ‘जेनरेटर राख्ने योजना बनाएको हुँ तर बैंक र सहकारीले ऋण पास नगर्दा सकिएको छैन।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024