मलेसियामा नेपाली सेक्युरिटी गार्डको न्यूनतम तलब ८५ हजार पुर्‍याउन आग्रह

2 May, 2022

रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा सुरक्षा गार्डका रुपमा कार्यरत नेपाली श्रमिकहरूको मासिक न्यूनतम पारिश्रमिक तीन हजार मलेसियन रिंगेट (करिब ८५ हजार नेपाली रुपैयाँ) पुर्‍याउन आग्रह गरेका छन्।

मलेसिया भ्रमणका क्रममा नेपाली सुरक्षा गार्डहरूले पाइरहेको सेवा-सुविधा कम भएको भन्दै बढाउन मन्त्री श्रेष्ठले सो आग्रह गरेका हुन्।

श्रेष्ठले मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभनन र गृहमन्त्री हम्जाह बिन जैनुदिनसँग भेट गरेका छन्। भेटमा नेपाल र मलेसियाबीच सन् २०१८ मा हस्ताक्षर भएको द्विपक्षीय श्रम समझदारी पत्र कार्यान्वयनका सम्बन्धमा छलफल भएको छ।

त्यस्तै मलेसियाको श्रम बजारको आवश्यकता अनुसार नेपाली श्रमिकहरूलाई सीपयुक्त बनाउने सम्बन्धमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

श्रमिक भर्ना प्रक्रियामा शून्य लागतको विषयलाई प्रभावकारी कार्यान्वयनमा ल्याउने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयको भनाई छ।

कामदार भर्ना प्रक्रियालाई स्वच्छ र पारदर्शी बनाउन जोड दिइएको छ। हाल त्यहाँ कार्यरत नेपालीहरूको स्वास्थ्य सामाजिक सुरक्षालाई सवलीकरण गर्न जोड दिइएको छ।

मन्त्री श्रेष्ठको नेतृत्वमा सचिव एकनारायण अर्याल, सह-सचिव राजिव पोखरेल, उप-सचिव डा. थानेश्वर भुसाललगायतको टोली यहि वैशाख १४ गते मलेसिया भ्रमणमा गएको हो। पाँच दिने भ्रमण सकेर टोली नेपाल फर्किएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024