मलेसियामा दुई जना अलपत्र

18 Jan, 2023

जीवछ यादव

लहान, माघ ४ गते । लहानको मिथिला म्यानपावरबाट वैदेशिक रोजगारका लागि मलेसिया पुगेका दुई जना युवा काम नपाएर त्यहाँ अलपत्र परेका छन्। लहान नगरपालिका–१ का गायत्री रामका छोरा विष्णु राम र सखुवानन्कारकट्टी गाउँपालिका–३ का झरिलाल यादवका छोरा श्यामसुन्दर यादव अलपत्र परेका हुन। आल्मुनियम कम्पनीमा मोबाइल मर्मतको काम भनेर दुवै जनासँग जनही तीन/तीन लाख रुपियाँ लिएर कात्तिक महिनाको अन्तिम साता मलेसिया पठाइएको थियो।

मलेसिया पुगेको एक हप्तापछि भनेअनुसारको काम नपाएर अलपत्र परेका विष्णु र श्यामसुन्दरले मलेसियाबाट फिर्ता नल्याए बाँच्न नसक्ने भन्दै परिवारसँग हारगुहार गरिरहेका छन्। परिवारले फिर्ता ल्याइदिन प्रहरीमा धाइरहेका दुवै जनाका अभिभावकले दुखेसो पोख्नुभयो।

विष्णुकी आमा गायत्रीदेवीले लहानका दलित अगुवालाई भेला गरी लहानस्थित मिथिला म्यानपावरमा तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको छ। विष्णु रामलाई मलेसियाबाट फिर्ता ल्याउन तयार भए पनि श्यामसुन्दर यादवलाई ल्याउन कुनै पहल नगरेको उहाँका पिता झरिलाल यादवले बताउनुभयो। उहाँले छोरा झिकाउन म्यानपावरका सञ्चालक शीतल यादवलाई भन्दा कुनै सुनवाइ नगरिरहेको पीडा पोख्नुभयो।

मलेसिया जान सरकारी खर्च ५० हजार पनि नलाग्नेमा जनही तीन/तीन लाख असुली गरेर मिथिला म्यानपावरले पठाइरहेको छ। वैदेशिक रोजगारीमा जाने युवाले यता भनिएअनुसारको काम पाउन सकेका छैनन्। यस समस्याको समाधानका लागि सखुवानन्कारकट्टी गाउँपालिकाले प्रहरी प्रशासन सरोकारवाला निकायसँग बसेर वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी बन्द गर्न पहल गर्ने सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024