मलेसियामा ठगिँदै नेपाली

18 Apr, 2015

रामचन्द्र गिरी

दूतावासले चासो नदिँदा मलेसियामा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) फाराम भर्दा र फोटो खिचाउँदा नेपालीहरूले बढी रकम तिर्नुपरेको छ । दूतावासभित्रै एमआरपी फाराम भर्ने र फोटो खिचाउने सुविधा नहुँदा नेपाली कामदार जनही ४० रिंगिट (करिब ११ सय रुपैयाँ) सम्म तिर्न बाध्य भएका हुन् । दैनिक दूतावास पुग्ने ६ सय नेपालीमध्ये आधाजसो एमआरपीका लागि आउने दूतावासका अधिकारी बताउँछन् । त्यसरी आउनेका लागि दूतावास आसपासमा नेपालीले चलाएका पसलहरूले एमआरपीका लागि फोटो खिच्ने र फाराम भरिदिने गरेका हुन् ।

एकजनाको फोटो र फाराम ५/६ रिंगिटले तयार हुने उनीहरू नै बताउँछन् । सेवा शुल्क ४ रिंगिट नै लिए पनि १० रिंगिटमा सबै काम गर्न सकिन्छ । तर, दूतावासको कमजोरीले सस्तो र सुलभ सेवा नपाएर नेपाली ठगिएका हुन् । आफ्नै अगाडि तेब्बर रकम असुली गर्दा पनि दूतावासले केही नगरेको सेवाग्राही बताउँछन् ।

‘कम शुल्कमा फाराम र फोटो खिच्ने कामको जिम्मा दूतावासले कुनै एउटा कम्पनीलाई दिएको भए हामी ठगिने थिएनौं,’ बुधबार दूतावास परिसरमा भेटिएका एक नेपालीले आक्रोश पोख्दै भने, ‘दूतावासको कमजोरीले गर्दा हामीले ४० रिंगिट तिर्नुपर्‍यो ।’

फाराम भर्न र फोटो खिच्ने जिम्मा एउटै कम्पनीलाई दिन टेन्डर प्रक्रिया अघि बढाउँदा मन्त्रीले नै प्रक्रिया रोक्न दबाब दिएको खुलेको छ । राजदूत निरञ्जनमानसिंह बस्न्यातले शुक्रबार बिहान कान्तिपुरसँग भने, ‘हामीले टेन्डर आह्वान गरेका थियौं । दरखास्तका लागि अन्तिम मिति सकिनुभन्दा एक-दुई दिनअघि ‘माथि’ (मन्त्री) बाटै टेन्डर रोक्दिनूस् भन्ने आदेश आयो,’ बस्न्यातले थपे, ‘फोन गरेरै तुरुन्त रोक्नुस् भनेपछि के गर्ने ?’

खाडीलगायतका कतिपय देशमा गैरआवासीय नेपाली संघसितको सहकार्य र समन्वयमा त्यहाँस्थित नेपाली दूतावासले सेवा प्रदान गर्दै आएका छन् । तर, मलेसियामा त्यस्तो समन्वय हुन सकेको छैन् । स्रोतका अनुसार गैरआवासीय नेपाली संघ मलेसियाले जनही ८ रिंगिटमै फोटो र फाराम भरिदिनेेे भन्दै दूतावासलाई प्रस्ताव गरेको थियो । तर, सहमति भएको दुई दिनमै दूतावासले एकाएक निर्णय उल्टाएपछि संघका पदाधिकारीहरू अचम्मित भए । ‘मौखिक सहमति भएको पर्सिपल्टै तपाईंहरूले गर्न नमिल्ने भयो, झन् विवाद बढ्ने देखियो भन्ने खबर आयो ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024