कान्तिपुर संवाददाता
काठमाडौँ — वैदेशिक रोजगारीका लागि मलेसिया पुगी विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव र १५ अस्तु शनिबार नेपाल ल्याइएको छ। ती शव र अस्तु परिवारको जिम्मा लगाइएको छ ।
नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ । उनले परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए ।
कानुनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन नेपाल सरकार र त्यहाँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शववाहनमा शव पुर्याउने गरेको छ ।