मलेसियाबाट ऋणसँगै घाउ लिएर फर्किए विशन

31 Mar, 2025

रमेशचन्द्र अधिकारी

धनकुटा — डेढ वर्षअघि साहुसँग ऋण काढेर मलेसिया गएका धनकुटा नगरपालिका–८ लुकुवाका २५ वर्षीय विशन राई गम्भीर स्वास्थ्य समस्यासँग जुध्दै ऋण काढेरै स्वदेश फर्किएका छन् । परिवारको आर्थिक अवस्था उकास्ने सपना बुनेर मलेसिया गएका राईले ऋणको भारसँगै घाउ बोकेर फर्कनु पर्दा उपचार खर्च जुटाउनै समस्या भएको छ ।

उनी २०८० कात्तिकमा मलेसियाको मलाकास्थित तेटाइजर कम्पनीमा श्रमिकको रुपमा गएका थिए । त्यहाँ जाँदा साहुसँग साढे ३ लाख रुपैयाँ ऋण लिएर गएको उनले बताए । साहुको ऋण तिर्दै घर खर्च पठाउने उनको सपना पूरा नहुँदै चार महिनाअघि उनी बिरामी परे । लगातार पेट दुख्ने समस्या भएपछि मलाका अस्पताल जाँदा ‘एपेन्डिसाइटस्’को तत्काल शल्यक्रिया गर्नु परेको थियो ।

एक महिना सोही अस्पतालमा उपचार गराएका उनको घाउ बल्झिएपछि रित्तो हात घर फर्कनु परेको हो । घाउ पाकेर टाँकासमेत उध्रिएपछि झन् गम्भीर बिरामी बनेको उनले सुनाए । दोस्रो पटक सोही अस्पतालमा शल्यक्रिया गरे पनि घाउमा संक्रमण भएपछि निको हुनुको साटो झन् सास्ती भोग्नु परेको राईले बताए । चार महिनासम्म अस्पताल बसाइ र उपचार खर्च थेग्न नसकेपछि साथीभाइसित ऋण मागेर घर फर्किएको उनले सुनाए । अस्पतालको खर्च बुझाउन नसक्दा बाध्य भएर घर फर्किनु परेको राई बताउँछन् । ‘बल्ल कमाइ हुन थालेको थियो, तर उपचार खर्चका कारण साहुको ऋणमुक्त हुने सपना अधुरै रह्यो,’ उनले भने, ‘साथमा रहेको सबै पैसा सकियो, साथीभाइसँग ऋण मागेर घर फर्किनु पर्यो ।’

फर्कँदाको टिकट र भिषाको सबै खर्च आफैंले बेहोर्नु परेको उनले बताए । शल्यक्रिया गरिएको घाउ पाकेर चार महिनासम्म निको नभएपछि उनी केहीदिन पहिले छटपटिँदै घर आइपुगे । जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचारपछि विराटनगरस्थित नोबेल मेडिकल अस्पतालमा थप उपचार गरेर आफन्तको घरमा बसिरहेका छन् । साहु र साथीभाइबाट लिएको ऋणको भारसँगै अस्पताल धाउनु परेका कारण चरम समस्यामा परेको उनले बताए ।

अस्पतालमा साथ रहेकी उनकी पत्नी डसमाया राईले उपचारका लागि खर्च जुटाउने प्रयास गरे पनि नसकेको बताइन् । पाँच वर्षीय छोरासहित परिवारका सबै उनकै भरमा आश्रित रहेको डसमाया बताउँछिन् । ‘महिनौंसम्म घाउ निको नभएपछि हामी सारै चिन्तित छौं । खर्च जुटाउनसमेत मुस्किल छ,’ उनले भनिन् ।

मलेसियामा विशनको तलब मासिक १५ सय रिंगिट थियो । स्वस्थ्य रहँदा कमाइ गरेको आधा तलब साहुको ऋण तिर्न घर पठाएका थिए । साढे ३ लाख साहुको ऋणमध्ये एक लाख मात्र तिरिसकेका थिए । एक महिना मलेसियाको अस्पतालमा बस्दा उनको ऋण थपियो । त्यसअघि पेट दुखाइले उनले नियमित काम गर्न नपाएको सुनाए । ‘साथीभाइ र आफन्तबाट थप ऋण पठाइमागेर औषधि र अस्पतालको खर्च बेहोरेँ,’ उनले भने, ‘अझ घर फर्कन प्लेन टिकट र भिसाको पैसाले ऋण थपिँदा सास्ती भएको छ ।’

घर फर्कंदा जहाजको भाडासहित २५ सय रिंगिट खर्च भएको उनले बताए । काठमाडौंमा केही दिन बस्दा र घर आउँदा समेत खर्च थपिएकाले उपचार धान्न नसक्ने अवस्थामा पुगेको उनले बताए । विराटनगरको नोबेल अस्पतालमा उनको पेटमा उध्रिएका टाँका बिहीबार पुनः सिलाइएको छ । शुक्रबार उनी अस्पतालबाट धनकुटा–७ स्थित दिदीको घरमा सरेका छन् । केही दिनपछि फलोअपमा अस्पताल जानुपर्ने बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024