मन्त्री मानव तस्करीमा मुछिंदा प्रदेशवासीकै शिर निहुरियो : माओवादी

8 Nov, 2024

२२ कात्तिक, विराटनगर । नेकपा माओवादी केन्द्रले कोशीका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मुछिएको घटनाको छानबिन गर्न माग गरेको छ ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले बिहीबार एक विज्ञप्ति जारी गरी मन्त्रीको जापान यात्रा मानव तस्करीसँग जोडिएको भन्दै छानबिन गर्न माग गरेको हो ।

प्रदेश सरकारको आचारसंहिता र भ्रमण निर्देशिका विपरीत मन्त्री जापान भ्रमणमा जानु र मानव तस्करीमा जोडिनुले प्रदेशवासीकै शिर निहुरिएको माओवादी केन्द्रको दाबी छ ।

‘विदेश भ्रमणमा जाँदा त प्रदेश मन्त्रिपरिषद्को निर्णयसहितको सिफारिसको आधारमा संघीय सरकारले सहमति दिनुपर्ने प्रावधान रहेको छ,’ माओवादी केन्द्रकी सचेतक गीता तिम्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसविपरित कूटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशवासीको शीर निहुरिएको छ ।’

नेपालबाट जापानमा सिधै उडान भएपनि हङकङ ट्राञ्जिट भएको उडान प्रयोग गर्नुले यो प्रकरण गम्भीर लापरबाही मात्र नभएर उच्च पदस्त व्यक्तिहरुको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करीको नयाँ प्रकरण त हैन भन्ने आशंका माओवादीले गरेको छ ।

मानव तस्करीको गिरोहले एक कार्यक्रममा सहभागी गराउन भन्दै मन्त्री अधिकारीलाई जापान लैजादा अन्य चार जनालाई पनि सँगै लगेको थियो । मन्त्रीको भ्रमण टोलीका चार जना शंकास्पद देखिएपछि टोकियो विमानस्थलबाट मन्त्री फर्किएका थिए ।

प्रहरीले उनलाई जापानको अध्यागमनले डिपोर्ट गरेको बताएको छ । तर अधिकारीले भने मानव तस्करको समूहले आफूसँगै अन्य व्यक्तिलाई पनि पठाएको चाल पाएपछि आफू विमानस्थलबाट फर्किएको दाबी गरेका छन् ।

यो घटनामा जोडिएका ६ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ भने मन्त्री अधिकारीले बुधबार राजीनामा दिएका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024