मध्यपहाडी राजमार्गका पेटी ठेकेदारद्वारा ५३ मजदुरको ज्याला ठगी

23 Mar, 2023

विष्णु घिमिरे

गमौडीका विपन्न समुदायका ५३ जना कामदारको मेट (नाइके) बनेर मध्यमहाडी राजमार्गको काममा लैजाने लालबहादुर खड्का अहिले निकै पीडामा छन् । दुई वर्षअघि मुख्य ठेक्काको जिम्मा लिएको कन्काई मोतीदान कम्पनीबाट पेटी ठेक्का लिएका मगदुल बरालमार्फत उनीसँगै ५३ जना कामदारले दुई महिना काम गरे । तर, हालसम्म पनि करिब चार लाख मजदुरहरूले पाएका रकम पाएका छैनन् ।

मजदुरहरूले आफूले काम गरेको हाजिरी ल्याएर जिल्ला प्रशासनमा उजुरी गरेको पनि डेढ वर्ष पुगिसक्यो । न्यायको आसमा दैलेख गमौडीका ६५ वर्षीय खड्कबहादुर खड्का सिमेन्टले खाएको खुट्टा देखाउँदै न्याय माग्न जिल्ला प्रशासन, जिल्ला प्रहरी र मध्यपहाडी राजमार्ग आयोजनामा धाइरहेका छन् । यसअघिका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट न्याय नपाएपछि अहिले उनीहरू प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसँग गुनासो गर्न आएका छन् । पेटी ठेकेदारले रासनबापत पनि लाखौँ रकम उधारो नतिरेको स्थानीय व्यापारी मञ्जु थापाको गुनासो छ ।

कन्काई मोतीदानले आफूले जिम्मा पाएको काम रकम कमिसन राखेर पेटी ठेकेदार लाल शुभम् भन्ने कम्पनीको अनुज खड्कालाई जिम्मेवारी दियो । अनुज खड्काले पुनः केही कमिसन आफूलाई राखेर मगदुल बराल, गणेश बिसी, जयलाल बोहरालगायतलाई पेटी ठेक्कामा लगायो । पेटी ठेकेदारहरूले हामी नै मुख्य ठेकेदार हौँ भन्दै किर्ते कागज देखाएर उधारोमा सामान लिनुका साथै कामदारलाई काममा लगाए । कतिपय व्यापारीको विश्वास जितेर नगदसमेत लिन भ्याए । कामदार र स्थानीय व्यापारीको रकम ठगेर भागेपछि मात्रै उनीहरू पेटी ठेकेदार भएको थाहा पाएको स्थानीयहरूले बताए ।

अन्यायमा परेका कामदारसँग मुख्य ठेकेदारसँग रकम असुल गर्ने प्रमाण छैन । गलत नाम राखेर कम्पनीको नाम बेच्दै पेटी ठेकेदारले जनता ठगे । तर, अहिले मुख्य ठेकेदार काममा आएका छन् । मुख्य ठेकेदारले भने प्रमाण माग्ने गरेको कारण स्थानीय व्यापारी तथा मजदुर अलमलमा परेका छन् ।

दैलेखको मध्यपहाडी राजमार्गअन्तर्गत विभिन्न खण्डमा पेटी ठेक्काको जिम्मा लिएर ठगी गर्नेहरूलाई तुरुन्त झिकाउन मुख्य ठेकेदार कम्पनी र प्रहरीलाई प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले निर्देशन दिएका छन् । जनता ठगी गरेर भाग्न कसैले नपाउने भन्दै उनीहरूको विस्तृत विवरण उपलब्ध गराउन दैलेखमा काम गरिरहेको मुख्य ठेकेदार कम्पनी कन्काई मोतीदानलाई प्रजिअले निर्देशन दिएका हुन् । दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले कानुनअनुसार पीडितहरूको पक्षमा ठगी गर्ने ठेकेदारहरूले कुनै पनि प्रमाण नदिएकाले समस्या भएको बताए । सबैको सहयोगमा ठगी गर्नेहरूको खोजी गरेर कानुनअनुसार प्रक्रिया अगाडि बढाइने उनले प्रतिबद्धता जनाए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024