मधेशमा बढ्दै मानव बेचबिखन, तीन वर्षमा ४१ घटना दर्ता, ५४ जना पक्राउ

30 Nov, 2023

पाँच महिलालाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले सप्तरीका दुईजना गेस्टहाउस सञ्चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले १० मंसिरमा राजविराज नगरपालिका– ३ मा रहेको लक्ष्मी गेस्टहाउसका सञ्चालक अरुणचन्द्र मिश्र र सप्तरी महादेवा गाउँपालिका– २ का रामप्रकाश मण्डललाई पक्राउ गरेको थियो । मिश्र र मण्डलले २५ देखि ३५ वर्ष उमेर समूहका पाँच महिलालाई जबर्जस्ती यौन कार्यमा लगाउन लामो समयदेखि गेस्टहाउसमा राखेका थिए । जसमा एकजना सुनसरी र बाँकी चारजना सप्तरीका हुन् ।

मिश्र र मण्डलमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । आर्थिक प्रलोभन देखाई महिलाहरूलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए ।

फेसबुक, इमो, ह्वाटसएपलगायत सामाजिक सञ्जालका कारण पछिल्लो समय मधेश प्रदेशमा मानव बेचबिखनलगायत घटना बढ्दै गएको छ । मधेश प्रदेश प्रहरी कार्यालयमन अनुसार पछिल्लो तीन वर्षमा विभिन्न जिल्लामा ४१ मानव बेचबिखनका घटना दर्ता भएको छ । आर्थिक वर्ष ०७७/७८ मा १२, आव ०७८/७९ मा ११, आव ०७९/८० मा १३ वटा मानव बेचबिखनका घटना दर्ता भएका हुन् ।

चालू आवको कात्तिक मसान्तसम्ममा पाँचवटा घटना दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । मानव बेचबिखनका घटनामा संलग्न रहेको आरोपमा आव ०७७/७८ मा १६, आव ०७८/७९ मा १०, आव ०७९/८० मा १२, चालू आव ०८०/८१ को कात्तिक मसान्तसम्म गरी ५४ जना पक्राउ परेका छन् ।

मधेश प्रदेशमा मानव बेचनबिखन न्यूनीकरणका लागि माइती नेपाल, आफन्त नेपाल, शान्ति पुनर्स्थापना गृह, साना हात नेपाललगायत संघसंस्थाले काम गरिरहेका छन् । ती संस्थाका अनुसार मधेश प्रदेशमा वार्षिक रूपमा करिब एक हजार महिलालाई सीमावर्ती क्षेत्रबाट उद्धार गर्ने गरिएको छ ।

माइती नेपालले पर्साको वीरगन्ज, धनुषाको बसपार्क र सर्लाहीको मलंगवानजिक सीमावर्ती क्षेत्रहरूबाट भारततर्फ बेचिन लागिरहेकालाई उद्धार गर्ने गरेको छ । माइती नेपालका एक कर्मचारीका अनुसार जनकपुर बसपार्कबाट मात्रै महिनामा १५ देखि २० महिलालाई उद्धार गर्ने गरिएको छ । माइती नेपालले वार्षिक रूपमा साढे दुई सयदेखि तीन सयसम्मलाई उद्धार गर्ने गरेको छ ।

प्रहरी उपरीक्षक महतो मधेश प्रदेशमा मानव बेचबिखनको घटना प्रहरीमा दर्ता कम भए पनि अवस्था त्योभन्दा फरक रहेको बताउँछन् । आर्थिक प्रलोभन, वैवाहिक प्रलोभन, विदेश पठाउने बहाना, यौन शोषण, श्रम शोषणलगायत कारण मानव बेचबिखनको घटना बढेको उनको भनाइ छ ।

खेलकुद तथा समाज कल्याण मन्त्रालयकी उपसचिव देविका खत्रीले मधेश प्रदेशमा मानव बेचबिखनको घटना प्रहरीमा दर्ता भएभन्दा फरक अवस्था रहेको बताइन् । प्रदेशमा मानव बेचबिखनको घटना बढिरहे पनि प्रदेश सरकार भने यसमा खासै गम्भीर देखिएको छैन । उपसचिव खत्रीले पटक–पटक मन्त्रालयको नाम फेरिने भएकाले पनि खासै काम गर्न नसकेको बताइन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024