मजदुर पुर्नवहालीबारे सहमति पछि घण्टाघरको ताला खुल्यो

29 Aug, 2023

घण्टाघरको स्थापनाकालदेखि नै कार्यरत मजदुरलाई विना कारण हटाएको भन्दै आन्दोलनरत संयुक्त ट्रेड युनियन संघर्ष समितिले धरानको भानुचोकस्थित घण्टाघरमा लगाएको ताला खोलेको छ।

मेयर हर्क साम्पाङसँग आज (सोमबार) भएको वार्तामा सहमति भएपछि संघर्ष समितिले ताला खोलेको हो। मेयरको कार्यकक्षमा भएको वार्तामा उमेर हकबन्दीले निकालिएका कर्मचारी (माली) हरुलाई थप एक वर्षका लागि कार्यकाल थपिदिने वा चित्त बुझ्दो अनुदान स्वरूप सहयोग गर्ने प्रस्तावलाई कार्यपालिकामा पेश गर्ने सहमति भएको थियो। यो सहमति गराउन वडा नं २ का वडा अध्यक्ष रमेश राईले सहजीकरण गरेका थिए। उक्त सहमति पछि नै सोमबार आन्दोलनरत संघर्ष समितिले घण्टाघरमा लगाएको ताला खोलेको हो।

मेयर साम्पाङले घण्टाघरमा विगत १८ वर्षदेखि कार्यरत नरबहादुर लिम्बु (राजा ) र ८ वर्षदेखि कार्यरत प्रकाश राईलाई उमेर हकबन्दीको कारण देखाएर हटाएका थिए। उनीहरुलाई हटाउनु अघि नै मेयर साम्पाङले आफ्नो ज्वाँई र समर्थकलाई सुटुक्क नियुक्ति दिएको खुलेपछि विरोध भएको थियो।

विभिन्न ट्रेड युनियनहरुले दैनिक ज्यालादारीमा कार्यरत मजदुरलाई उमेरको हकबन्दी नलाग्ने र निम्न अवस्थाका मजदुर भएकोले पुर्नवहाली गर्न वा उचित राहत दिएर मात्र बिदा गर्न माग गरेको थियो। एक साताको अल्टिमेटम दिँदा पनि माग पुरा नभएपछि संघर्ष समितिले आइतबार घण्टाघरमा तालाबन्दी गरेको थियो।

संघर्ष समितिले सहमति ज्यादै सकारात्मक भएको प्रतिक्रिया दिँदै कार्यपालिका बैठकमा प्रस्ताव पेश भएर उचित निर्णय नभए पुनः आन्दोलन गर्ने जनाएको छ।

‘यो सहमति ज्यादै सकारात्मक छ, कार्यपालिकामा प्रस्ताव गएर निर्णय नभए फेरि आन्दोलन गछौं,’ संघर्ष समिति संयोजक शम्सेर वर्देवाले भने। दुवै मजदुरले पनि सहमति प्रति खुसी व्यक्त गरेका छन्। उनीहरुले आफूहरूले काम गर्न सक्ने अवस्थासम्म काम गर्न पाउनुपर्ने धारणा राखे।

‘म काम गर्न थालेको २० वर्ष भयो, नियुक्ति भएको चै १८ वर्ष भयो। घण्टाघरकै स्याहार गर्दै जीवन बित्यो। अझै काम गर्न सक्छु, गर्न सकुन्जेल पाउनुपर्छ,’ नरबहादुर लिम्बुले भने।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024