मजदुरी गर्दागर्दै हेड-मिस्त्री भएकी लीला

22 Mar, 2023

नारायण खड्का

यति बेला तुलसीपुर उपमहानगरपालिका–७ की लीला चौधरी उपमहानगर क्षेत्रकै मज्वा गाउँमा एउटा निजी घर निर्माणमा व्यस्त छिन्। उनको मातहत अन्य केही पुरुष श्रमिकहरू काममा छन्। निर्माणाधीन घर उनका श्रीमान जितबहादुरले गत पुसमा ठेक्कामा लिएका हुन्। निर्माणको काम करिब अन्तिम चरणमा छ।

लीला यहाँकी हेड-मिस्त्री हुन्। उनले निर्माण क्षेत्रमा काम गरेको १५ वर्ष भइसक्यो।

सुरूमा उनी आफ्ना श्रीमानसँगै दैनिक ज्यालादारीमा मजदुरका रूपमा काम गर्थिन्।

‘अरूले गरेको हेरेर पनि धेरै आइडिया आउने रहेछ,’ लीलाले सेतोपाटीसँग भनिन्, ‘नजानेको ठाउँमा म सोधिहाल्थेँ। सिक्दैसिक्दै पाँच वर्ष मजदुरका रूपमा काम गरेपछि मिस्त्री भएँ।’

श्रीमान–श्रीमती दुपै मिस्त्रीका रूपमा काममा खटेपछि कमाइ राम्रो हुन थाल्यो। आँट र हौसला बढ्यो।

लीलाले एक दिन श्रीमानलाई भनिछन्– आफ्नो हातमा सबै सीप छँदै छ। अरूका पछि मात्रै कति लाग्नु? तपाईं घर ठेक्का लिनुहोस्, म हेड-मिस्त्री भएर काम गराउँछु।

जितबहादुरलाई श्रीमतीको कुरा मनपर्‍यो। उनले एउटा घर ठेक्का लिएर काम सुरू गरे। एकपछि अर्को गर्दै काम बढ्दै गयो।

अहिले लीला र जितबहादुर एक साथ दुइटा घर बनाउने काममा लागेका छन्।

‘यही गाउँमा श्रीमान अर्को ठाउँमा हुनुहुन्छ, म यहाँ छु,’ लीलाले भनिन्, ‘श्रीमान घर ठेक्का लिनुहुन्छ। म हेड-मिस्त्री भएर काम गर्छु।’

२०५० सालमा तुलसीपुरको मानपुर, वनकट्टामा जन्मिएकी हुन् उनी। जीवन बाल्यकालदेखि नै संघर्षपूर्ण रह्यो। परिवारमा गरिबी थियो। उनले सानै उमेरमा अर्काको घरमा काम गर्नुपर्‍यो। घरका चार सन्तानमध्ये लीला दोस्रो थिइन्। गरिबीकै कारणले उनीहरू कोही पनि स्कुल जान पाएनन्।

लीला कामकै लागि तीन वर्ष बर्दिया र दुई वर्ष कैलालीको धनगढी बसिन्। केही वर्ष तुलसीपुर बजारमा काम गरिन्। त्यसपछि फेरि गाउँका एक ‘जमिनदार’ को घरमा बसिन्।

घरेलु कामदार बसेकै बेला १४ वर्षको उमेरमा लीलाले जितबहादुरसँग भागी बिहे गरिन्। बिहे गरेको तीन वर्षमा दुई सन्तानकी आमा भइन्।

छोरा सानै छँदा लीला र जितबहादुर संयुक्त परिवारबाट अलग भए। गाउँमै भाडामा बस्न थाले। लीलाले भाँडा माझ्ने काम थालिन्। जितबहादुर ट्याक्टर चलाउँथे। लीलाले घरघर डुलेर भाँडा माझ्नु पर्दा जितबहादुरलाई नरमाइलो लाग्यो। उनले दुवै जना घर बनाउने काममा श्रमिक बन्न उचित हुने ठानेर लीलालाई भने।

लीलालाई कुरा मनपर्‍यो। त्यो बेला लीलाले दैनिक ८० रूपैयाँ ज्याला पाउँथिन्, जीतबहादुरले सय रूपैयाँ। उही काममा पुरुषको भन्दा महिलाको ज्याला थोरै! लीलाका अनुसार अहिले पनि धेरै ठाउँमा यस्तै अवस्था छ।

बिहान सबेरै उठेर पानी ल्याउनु, खाना तयार गर्नु, छोराहरूलाई स्कुल पठाउनु, घरको अरू काम भ्याउनु र आठ बजे काममा पुग्नु। लीलाका लागि ती दिन निकै संघर्षपूर्ण थिए। आफ्नो दुःख त छँदै छ, दुई छोराको उज्ज्वल भविष्यका लागि काम गर्नु छ भन्ने कुराले ऊर्जा भरिन्थ्यो। लीलाले आफूले कमाएको पैसा अलिअलि बचाएर श्रीमानलाई थाहा नदिई बैंकमा बचत गर्न थालिन्।

केही वर्षपछि बैंकमा गएर बुझ्दा त तीन लाख रूपैयाँ जम्मा भएको रहेछ। एक दिन लीलाले अलिकति घडेरी किनेर सानो भए पनि घर बनाऔं भनिन्।

जितबहादुर छक्क परे– कहाँ छ र पैसा? कहाँबाट ल्याउनु?

लीलाले बैंकमा जम्मा भएको तीन लाख रूपैयाँ देखाइन्। पैसा जम्मा हुनुको रहस्य पनि खोलिन्। जितबहादुर हुनसम्म खुसी भए।

दुई लाख रूपैयाँ त्यही बैंकबाट ऋण लिए। त्यसमा केही थपेर गाउँमै एउटा घडेरी किने। घर बनाउने सीप आफैंसँग थियो। अलिक पछि सानो घर बनाए।

‘मजदुर भएर काम गर्दा खिसी गर्नेहरू पनि थिए। अँध्यारै धारामा पानी थाप्न जाँदा डाहा गर्नेहरू पनि थिए,’ लीलाले भनिन्, ‘घर बनाएपछि हाम्रो मेहनतको प्रशंसा गर्न थालेका छन्।’

पढाइलेखाइ नभए पनि उनले श्रमको काम नजानेको केही छैन।

भन्छिन्, ‘पढ्नलेख्न जान्दिनँ। त्यसबाहेक घरगृहस्थी चलाउन मैले नजान्ने काम केही पनि छैन जस्तो लाग्छ।’

लीला सुडेनी पनि हुन्। दुई सन्तान जन्माएपछि सुत्केरी गराउने सम्बन्धी एक महिनाको तालिम लिने अवसर पाएकी थिइन्।

‘मैले थुप्रै सुत्केरीहरूको सेवा गरेकी छु,’ उनले भनिन्, ‘अझै पनि मलाई सुत्केरीको मालिस गर्न बोलाउँछन्।’

तर लेखपढ गर्न नजान्दाको कष्ट उनले आफ्नो काममा कहिलेकाहीँ भोग्नुपर्छ। घर बनाउने क्रममा नापो लिँदा उनलाई समस्या हुन्छ।

‘पढ्न नपाउँदाको पीडा मलाई जति कसलाई होला र,’ उनी भन्छिन्, ‘हेड-मिस्त्री भए पनि फिताले आफैं नापेर हिसाब निकाल्न जान्दिनँ।’

यस्तो काममा श्रीमानले सघाउँछन्।

‘फिताको हिसाब बाहेक मलाई घरको नक्सा थमाइदिएपछि जस्तो भन्यो त्यस्तै बनाउन सक्छु,’ उनले भनिन्।

आफूले पढ्न नपाए पनि आफ्ना दुई छोरालाई पढाइमा केही कमी हुन दिइनन्। जेठा छोरा २२ वर्षका भए। उनी स्नातक तहको पढाइ पूरा गरेर केही महिनाअघि अस्ट्रेलिया गएका छन्। कान्छा छोराले दस कक्षासम्म पढे। पढ्दा पढ्दै बिहे गरे। हाल उनी साइकल पसलमा काम गर्छन्। अहिले परिवारमा लीला, जितबहादुर, कान्छा छोरा र बुहारी छन्।

‘जेठो छोराले मेरो सपना पूरा गरिदियो। कान्छासँग पनि हातमा सीप छ,’ लीला भन्छिन्, ‘कि शिक्षा हुनुपर्‍यो कि सीप। यस्तो मान्छे जहाँ पनि सजिलै बाँच्न सक्छ।’

घर बनाउने ठेक्का लिनु र नक्साअनुसार बनाइदिनु नै लीला र जितबहादुरको मुख्य पेसा हो। उनीहरूले वर्षमा पाँच वटासम्म घर बनाउँछन्।

‘श्रीमान ठेक्का लिनुहुन्छ र घरको नक्सा दिनुहुन्छ,’ लीला भन्छिन्, ‘म नक्साअनुसार घर तयार पारिदिन्छु। मेरो काम देखेर श्रीमान पनि दंग हुनुहुन्छ।’

श्रीमतीको सीप र क्षमताबाट जितबहादुर पनि दंग छन्। दुवै जना एक अर्काका भरोसा भएका छन्। दुवै जनाको कमाइबाट घर चलाउने र बचत गर्ने काम लीलाको जिम्मामा छ। जितबहादुर आफूलाई पैसा चाहिए श्रीमतीसँगै माग्छन्। कमाएर ल्याएको पैसा पनि लीला नै राख्न दिन्छन्।

आफ्नो पारिवारिक उन्नतिमा श्रीमान–श्रीमतीको मेलमिलाप नै मुख्य हो भन्ने लीलाको निष्कर्ष छ। उनलाई महिला र पुरुष एक रथका दुई पांग्रा हुन् भन्ने कुरा ठीक हो भन्ने लाग्छ।

‘श्रीमानलाई मात्रै काम गर्न पठाउँदा परिवार चलाउन गाह्रो हुन्छ। महिला र पुरुष एक रथका दुई पांग्रा हुन् भनेपछि त दुवै पांग्रा गुड्नुपर्छ,’ लीला भन्छिन्।

लीलाका धेरै ठूला सपना छैनन्।

जम्मा दुई वटा इच्छा छन्– आफ्नै पौरखमा सजिलो तरिकाले जीवन चलाउन सकियोस् र छोराहरूले गरी खाऊन्।

लीला गत फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन तुलसीपुर उपमहानगरपालिका कार्यालयबाट सम्मानित पनि भइन्। उनले नगद पुरस्कारसहित प्रमाणपत्र पाइन्। घर निर्माणमा मिस्त्री काम गर्ने लीला र सोही ठाउँकी शिला चौधरीलाई उपमहानगर कार्यालयले सम्मान गरेको थियो।

यो सम्मानले लीलाको हौसला अझै बढेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024