नारायण शर्मा
नवलपरासी — निर्माणाधीन गैंडाकोट-दाउन्ने सडक खण्डको काम सुरु हुने भएको छ । मेसिनले गर्ने ठूला काम सुरु गर्दा जोखिम नहुने भएकाले चिनियाँ ठेकेदार कम्पनी सडक निर्माणको काम अघि बढाउन लागेको हो ।
गैडाकोट-दाउन्नेसडक खण्डका इन्जिनियर सुजन अधिकारीले सडकमा पुल निर्माणको काम महत्त्वपूर्ण हुने भएकाले निर्माण कार्य सुरु गर्न लागिएको जानकारी दिए। उनले धेरै मेसिन र थोरै जनशक्तिबाट काम हुने भएकाले काम थालिएको बताए। मेसिनका कामदारलाई क्वारेन्टाइनमै राखेर काम अघि बढाइने उनको भनाइ थियो।
मेसिन चलाउने कामदारलाई क्वारेन्टाइनमा नै राखेर सडकको काम अगाडि बढाउने सहमति भइसकेको पनि अधिकारीले जानकारी दिए। काममा खटिने कामदारलाई बाह्य सम्पर्कमा जान नदिने र कामको निगरानी गरिने बताइएको छ।
सानो संख्यामा स्थानीय मजदुरलाई काम गर्ने क्षेत्रमै टेन्टमा राखेर काम गराउन चिनियाँ ठेकेदार कम्पनीले रुचि देखाएकाले त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल भइरहेको अधिकारीले बताए।
बुटवल-नारायणगढ सडकको निर्माणाधीन ११४ किलोमिटर खण्डको निर्माण कार्य कोरोना भाइरसको प्रकोप फैलिन नदिन गरिएको लकडाउनका कारण चैत्र ११ गतेदेखि रोकिएको थियो।
गैंडाकोट-दाउन्नेसडक खण्डको ६८ किलोमिटरमा ९ वटा ठूला पुल बनाउनुपर्ने छ। काम सुरु भएर रोकिएका लोकाह पुललगायतका ४ पुलको निर्माण कार्य अगाडि बढाइने भएको हो।
दाउन्ने-बुटवल खण्डमा भने तत्काल काम गर्ने अवस्था नरहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ।
गैंडाकोट-दाउन्नेसडक खण्डको नियमित कामपनि तत्काल सुरु नहुने बताइएको छ।