मजदुरमा कोरोना संक्रमण देखिएपछि पूर्वराजाको चियाबगान एक साता बन्द

14 Jun, 2021

चिरञ्जीवी घिमिरे

अधिकांश मजदुरमा कोरोना संक्रमण देखिएपछि झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको चियाबगान एक साता बन्द हुने भएको छ । पूर्वराजाको स्वामित्वमा रहेको हिमालय–महालक्ष्मी चियाबगान सोल्टी ग्रुपको व्यवस्थापनमा अहिले भारतीय व्यवसायीले लिजमा चलाउँदै छन् । मजदुरमा कोरोना संक्रमण फैलिएपछि सोमबारबाट एक साता बगान बन्द हुने भएको हो ।

सेवा–सुविधा नपाएको भन्दै ३२ दिनसम्म बगान बन्द गरेर महामारीमा मजदुरहरू आन्दोलनमा उत्रिएका थिए । बगान सञ्चालन भएको करिब दुई सातामै मजदुरमा कोरोना संक्रमण देखिएपछि बगान बन्द गर्नुपरेको बगानका व्यवस्थापनक माधव ठाकुरले जानकारी दिए । ‘शनिबार सयजनामा कोरोना परीक्षण गर्दा २० जनामा संक्रमण देखियो,’ उनले भने, ‘दमक नगरपालिकाले बन्द गर्न पत्र लेखेको छ । हामी त्यहीअनुसार एक साता बन्द गर्छौँ ।’

बगानमा तीन सय १५ जना स्थायी र अन्य बाँकी अस्थायी गरी चार सयभन्दा बढी मजदुर कार्यरत रहेको उनले बताए । अहिले दोस्रो चरणको चिया टिप्ने समय थियो । यो समयमा चिया नटिपे कम्पनीलाई दैनिक ६ लाखभन्दा बढी घाटा हुने उनले बताए । ‘एक महिना बन्द भएर बगान बल्ल खुलेको छ । त्यो समयमा पनि करोडभन्दा धेरै घाटा लाग्यो । मजदुरलाई चाँडै सेवा–सुविधा दिने सहमति गरेर बगान खुलाएका थियौँ,’ व्यवस्थापक ठाकुर भन्छन्, ‘यो समयमा काम गर्न नपाए त्यो सम्झौता पूरा गर्न पनि मुस्किल होला जस्तो भएको छ ।’

बगानमा कार्यरत अधिकांश मजदुर बिरामी रहेको मजदुर नेता दीपक फुँयालले जानकारी दिए । ‘एक सयजनाको परीक्षण गरियो । उनीहरूमा लक्षण थिएन । तर, २० जनामा पजिटिभ देखियो,’ उनी भन्छन्, ‘लक्षण देखिएकाले डरका कारण परीक्षण गर्न मानेनन् । लक्षण हुने धेरै छन् ।’ कोरोना संक्रमण देखिएकालाई राख्न आइसोलेसन नभएकाले थप संक्रमण फैलन सक्ने उनी बताउँछन् । ‘मजदुरको घर, आइसोलेसन बनाउने खालको छैन । दुईवटा कोठा भएको घरमा परिवारका पाँचदेखि सातजना सदस्य बस्नुपर्छ,’ उनी भन्छन्, ‘आइसोलेसन नबनाउने हो भने बगानको मजदुरको अवस्था भयावह आउने खतरा छ । यसतर्फ नगरपालिकाको ध्यान जाओस् ।’

दैनिक काम गरेर खाने मजदुर नै बिरामी पर्दा समस्या भएको फुँयाल बताउँछन् । ‘महिनौँ आन्दोलनमा उत्रँदा सबै मजदुरको घरमा खानेकुरा सकिएको छ । एक साता काम गर्न नपाउँदै यस्तो अवस्था आयो,’ उनी भन्छन्, ‘अब राहत नदिने हो भने मजदुर भोकै पर्ने अवस्था आउँछ ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024