भो म अस्ट्रेलिया जान्नँ!

29 Jan, 2024

आज पल्लो घरमा बढो होहल्ला छ। प्रायः चकमन्न हुने घरमा हल्ला भएपछि मैले आफ्नी हजुरआमालाई सोधें, ‘आमा, आज के छ पल्लो घरमा?’

आमाले भन्नुभयो, ‘अस्ट्रेलियाबाट आज छोराबुहारी आउने रे, त्यही भएर सरसफाइ चल्दै छ।’

आमाले फेरि थप्नुभयो, ‘पाँच वर्षपछि आउने भएपछि यतिको हल्लाखल्ला हुँदैन त?’

प्रायः चाडवाडमा आफ्नो सन्तान घरमा नहुँदा जोकोही आमाबुवालाई पनि चाडबाड खल्लो लाग्ने गर्छ। दसैंमा आउने बिदा नमिलेर होला, दसैँ सकिने बित्तिकै तिहार मान्ने गरी छोरा-बुहारी आउने पक्का भएपछि काकाकाकीको अनुहारमा बेग्लै खुसी झल्केको छ। समसाँझे सुनसान हुने छिमेकीको घर आजकल छोरा बुहारी आएपछि राति अबेरसम्म हर्षोल्लास साट्दै गफ गरेको सुन्न पाइन थालेको छ।

उमेरले तीन वर्ष जेठो भए पनि हामी बालसखा हौं, तिमी तिमी भनेर्रै बोल्छौं। अस्ट्रेलियाबाट घर आएको भोलिपल्ट बिहान हाम्रो भेट भयो। नेपालमै बसिरहनेसँग सुनाउने लायक खासै गफ नहुने भएकाले मैले पवनलाई अस्ट्रेलियाबारे सोध्न खोजें। उसले अस्ट्रेलिया बारे सुनाउन नपाउँदै मलाई प्रतिप्रश्न गरिहाल्यो- ‘तिमी चाहिँ विदेश नजाने?’

स्नातक तह पढाइ सकेपछि निकै वर्ष जागिर खाएर केही समयदेखि आफ्नै व्यवसाय गर्न थालेको मलाई यो प्रश्न भारी भो। केही भन्ने आँट गरिनँ। सफल मानिएका व्यवसायी, प्रतिष्ठित कम्पनीमा जागिर खाइरहेका समेत अन्तर्राष्ट्रिय एयरपोर्टमा हात हल्लाउँदै विदेश यात्रा तय गरिरहेको झल्झल्ती देखेको मैले, म देशमै केही गर्न बसेको भनेर आत्मविश्वासका साथ विदेश जान्नँ भन्न सकिनँ। खालि तत्काललाई विदेश जान सोचेको छैन भन्न मात्र सकें।

विदेशमा बस्नेले नेपालमा केही हुन्न, केही गर्न सकिन्न भन्ने आशयका अभिव्यक्ति दिइरहँदा, साँच्चै नेपालमा केही गर्न सकिन्न कि भन्ने लाग्ने रैछ। नेपालमा बसिरहेका खुसी मानिस पनि सुखी जीवन व्यतीत गर्ने अभिलाषाले, त्यस्ता अभिव्यक्तिबाट हल्लिने रैछन्।

नेपालमै बस्नु भनेको वर्तमानमा कर्म गर्दै भविष्य सुन्दर होला भन्ने आशमा रमाएका मानिसहरू हुन् जस्तो लाग्छ मलाई। देशमै रमाइरहेको म पवनलाई देशमै प्रशस्त सम्भावनाहरू छन्, यहीं मज्जाले गर्न सकिन्छ भन्न सकिनँ। मैले पनि प्रश्न गरें उसलाई, ‘अनि पिआर भयो तिम्रो?’

अस्ट्रेलिया अध्ययनमा जानेहरूको अधिकांशको अन्तिम लक्ष्य पिआर हुने हुँदा पनि मलाई यो प्रश्न गर्न खासै अफ्ट्यारो भएको थिएन। बिबिए सकेर अस्ट्रेलिया गएको पाच वर्ष भैसकेको थियो, मास्टर पनि सकिसकेको हुँदा पक्कै पनि पिआरकै प्रक्रियामा होला भन्ने बुझाइले मैले यो प्रश्न गरेको थिएँ।

उसले भन्यो, ‘अस्ट्रेलियामा पिआर सम्बन्धी नयाँ-नयाँ नियमहरू आइरहन्छ। पहिले अस्ट्रेलियाका गाउँहरूमा केही वर्ष बसेपछि पिआर पाउने बलियो आधार बनेको थियो मेरो लागि, त्यही भएर गाउँमै बसियो तर अहिले फेरि नयाँ नियम आयो। दक्ष कामदारलाई मात्र पिआर दिने नियम आएपछि अहिले म नर्सिङ पढ्न थालेको छु।’

सुन्दा सामान्य लागे पनि पिआरको निमित्त भइरहने संशोधित नियमहरूले मान्छेलाई कति घुमाउँदो रहेछ। मानिसले आफ्नो लक्ष्य प्राप्ति गर्न दृण संकल्प र मेहनत कतिसम्म गर्नुपर्दो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण मैले पवनमा पाएँ।

विदेशमा बसेर देशमा केही गर्न सकिन्न भन्ने मान्छे कतै देशमै केही प्रयास नै नगरी पो विदेश गएको हो कि जस्तो लाग्छ कहिलेकाहीँ। छरछिमेक र आफन्तले ‘विदेश जानु नि, किन नेपालमा समय बर्बाद गरेको?’ भनि दिने अभिव्यक्ति चैते हुरी हुन् जस्तो लाग्छ मलाई। जो हाम्रो सपनामा छानाहरू उडाउन उद्धत छन्।

पवनले फेरि मलाई पिआर बारे विस्तृत सुनाउन थाल्यो।

‘तिमीहरू जस्तो इन्जिनियरको राम्रो छ अस्ट्रेलियामा, यहींबाट पिआर आवेदन दिएर जाँदा नि हुन्छ। सिधैं पिआर भएर जान पाइन्छ। कमाइ नि राम्रो हुन्छ, लाइफ नि सेटल हुन्छ।’

यो कुरा सुनेपछि मलाई धेरै अगाडिको घटनाको सम्झना भयो। जतिबेला भर्खर सिभिल इञ्जिनियरिङ पढिसकेको थिएँ। घरको आर्थिक अवस्था र देशमा रोजगारको सम्भावनालाई हेर्दा खाडी मुलुकमा इन्जिनियरको जागिर खाने भूत सयर भएको थियो। पासपोर्ट पनि बनाएँ तर अन्तिममा ठूलो जहाज चडी सात समुद्र पारिको देशमा जान यो मनले मानेन। त्यही दिनदेखि मैले विदेश जाने सम्पूर्ण ढोकाहरू बन्द गरिसकेको थिँए। तर आज अचानक पवनले पिआरसहित लाइफ सेटलसम्मको कुरा गर्दा थोरै यो विषयमा लेख्न मन लाग्यो

देश बस्नु भनेको यो माटोको सम्मान गर्नु हो। घर परिवार, समाज र राष्ट्रले आजको दिनसम्म लाएको गुण तिर्न देशमै बस्नु हो। भावना, संवेदना र आत्मियता पैसाले किन्न सकिन्न भन्ने बुझेर देशमै बसिएको हो। विदेशमा बस्नेको भन्दा नेपालमै बस्नेको मेन्टल हेल्थ बलियो हुन्छ भन्ने बुझेर यहीं बसिएको हो।

सबैथोक सुख सयल, धनसम्पत्ति नै हो, यो भएपछि जीवनको अन्तिम क्षणसम्म खुसी हुन सकिन्छ भन्ने कुराको निचोडमा पुग्न नसकेर नै देशमै बसिएको हो। यस्ता धेरै कुरा मनमा खेले तर पवनलाई भन्न सकिनँ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024