टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म करिब ४ हजार ३ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। सयौं ठूला भवनहरू ढलेका छन् भने हजारौं घाइते भएका छन्।
सिरियासँग सिमा जोडिएको टर्कीको दक्षिणपूर्वी सहर गाजीयान्टेपलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो। २० लाखभन्दा धेरै जनसंख्या बसोबास रहेको यो क्षेत्रमा करिब ५ लाखभन्दा बढी सिरियाली शरणार्थीहरू छन्।
सिरियाको स्वास्थ्य मन्त्रालय र ह्वाइट हेल्मेट राहत समूहका अनुसार यहाँ १,४५० भन्दा बढीले ज्यान गुमाएका छन्।
यता टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुका अनुसार टर्कीमा मात्रै हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु हुनुका साथै १५ हजार ८३४ जना घाइते भएका छन्। यहाँ ५६०० भन्दा बढी भवनहरू ध्वस्त भएका छन्।
यो क्षेत्रमा रहेका नेपालीहरू भने अहिलेसम्म सुरक्षित रहेको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ।
भूकम्प गएको क्षेत्र राजधानी अंकारा* भन्दा धेरै टाढा रहेको र त्यहाँ थोरै संख्यामा मात्र नेपाली रहे पनि अहिलेसम्म नेपालीहरू सुरक्षित रहेको एनआरएनका अध्यक्ष बद्री केसीले जानकारी दिए।
एनआरएनका अनुसार टर्कीको इस्तानबुल, अंकारा, इज्मिर, अन्टालिया, बोडुर्म लगायतका स्थानमा २ हजार देखि २५ सयसम्म नेपालीको बसोबास रहेको छ।
‘हामीलाई प्राप्त सूचना अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेपमा भने थोरै संख्यामा नेपाली रहेको जानकारी पाएका छौ’, उनले भने, ‘त्यहाँस्थित नेपालीहरु अहिले हाम्रो राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसीसी)टर्कीसँग प्रत्यक्ष सम्पर्कमा छन्। भूकम्पमा हालसम्म कुनै नेपालीको क्षति नभएको जानकारी प्राप्त भएको छ।’
अध्यक्ष केसीले गाजीयान्टेपबाट एनआरएनको सम्पर्कमा जोडिएका नेपालीले आफूहरु सुरक्षित रहेको बताएको जानकारी दिए।
यदि भूकम्पका कारण कोही नेपाली प्रभावित भएको वा समस्या परेको भए तुरुन्त गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ, महासचिव विनोद पौडेल वा गैरआवासीय नेपाली संघको सचिवालयमा सम्पर्क राख्न एनआरएनले अनुरोध गरेको छ।
यसैबीच टर्की मामिला हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली समुदायमा क्षति भए/नभएको खबर आइनसकेको जनाएको छ।
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले आफूहरूले नेपालीबारे सूचना संकलन गरिरहेको बताए । ‘अहिलेसम्म नेपालीको कुनै अप्रिय खबर आएको छैन,’ उनले सेतोपाटीसँग भने।
उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन्। विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।
कतिपयले पीडितहरू पानी परेपछि घर छोडेर बाहिरिएका छन्।
सोमबार बिहान ११ मिनेटको अन्तरालमा आएको दुई शक्तिशाली भूकम्पले दक्षिणी टर्कीका दश वटा प्रान्त नराम्ररी प्रभावित भएका हुन्।
भूकम्प प्रभावित दक्षिणी टर्की र उत्तरी सिरियाको धेरै जसो क्षेत्रमा उद्धार कार्य जारी रहेको समाचार संस्था एपीले जनाएको छ।
टर्की र सिरियाका उद्धारकर्मीहरु भत्केका भवनहरुमा फसेका मानिसहरुलाई बाहिर निकाल्न खटिरहेका छन्।
विश्वका शीर्ष नेताहरुले टर्कीलाई सहायता गर्ने वचन दिँदै अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन् ।
भूकम्पले ठूलो जनधनको क्षति भएपछि टर्कीले सात दिन राष्ट्रिय शोकको घोषणा गरेको छ। साथै आगामी फेब्रुअरी १२ सम्म राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो।
भूकम्पविद्हरूले सोमबार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन्। भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो।
पहिलो भूकम्पबाट प्रभावित भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा थियो।
यसको धक्का साइप्रस, इजिप्ट, इजरायल र लेबनानमा पनि महसुस गरिएको थियो।