भिरबाट गुल्टाइएका दुई नेपाली बालकको गथासो

11 Sep, 2024

माध्यमिक तहमा अध्ययनरत तीन बालकलाई भारतमा राम्रो काम, आकर्षक तलबसँगै खानेबस्ने सेवासुविधा राम्रो छ भन्दै तीनजना दलालमार्फत उनीहरूलाई गत चैत २१ गते भारत पुर्‍याइन्छ। भारतको एक गाउँमा ती बालकहरूलाई पुर्‍याएसँगै खेतीपातीको काममा जोताइन्छ। उनीहरूको कलम चलाउने हातमा ठेलाको गाँठोले काम गर्नसक्ने अवस्था पनि हुँदैन। तापनि उनीहरूलाई राम्रो आम्दानीको प्रलोभन देखाएर काममा लगाइन्छ।

घरमा ढलेको गिलास पनि नउठाएका तर भारतमा मरीमरी बारी खन्ने काम गरेको सिन्धुपाल्चोकस्थित घर भई हाल काठमाडौंमा परिवारसँगै बस्दै आएका १६ वर्षीय सचेन्द्र कार्की बताउँछन्। उनी साथीभाइको लहैलहैमा भारत पुगेका थिए।

त्यति मात्रै नभएर धादिङ, नौबिसेस्थित बिचबजारका जयलाल तामाङले आफ्नो छोराको जन्मदर्ता सचेन्द्रलाई र अन्य दुई बालकलाई साथीहरूको छोराको जन्मदर्ता थमाएर सुकबहादुर तामाङलाई जिम्मा लगाई भारत पुर्‍याएको सचेन्द्रले बताए। नौबिसेकै प्रकाश बिकले ती दुई जयलाल र सुकबहादुरलाई सम्पर्क गराइदिएको सचेन्द्रले जानकारी गराए।

दलालले आफूहरूलाई ठूलो आश्वासनमा पारेको बताउँदै कार्की भन्छन्, ‘पढ्दै गरेका हामीलाई विभिन्न प्रलोभन देखाए। हाम्रो नागरिकता केही थिएन, तापनि उनीहरूकै छोराको जन्मदर्ता दिएर भारतमा धेरै राम्रो काम छ भने।

मलाई एकाएक तामाङको छोरा हो भन्न लगाइयो। धेरै प्रलोभन देखाएर सुकबहादुरले आफूहरूलाई भारत पुर्‍याएको उनी सम्झन्छन्, ‘त्यहाँ धेरै दुख गर्‍यौं। हामीसँगै गएका १५ वर्षीय सचिन आचार्यलाई उसको परिवारले केही महिनामै नेपाल झिकाए । म र १७ वर्षीय अर्जुन माझीचाहिँ त्यहीँ काम गर्न थाल्यौं।’

उनीहरूको कहिले खेतबारीमा खन्नेजोत्ने त कहिले जंगलमा बिरुवा रोप्ने काम थियो। दिनभर गोरु जस्तै जोतिएर काम गर्नुपरेको उनले बताए। यसरी दुई बालकले भारतको जमिनमा संघर्ष गर्दै थिए। उनीहरूको संघर्ष गर्ने धेरै लामो दिन थिएन। यो कुरा उनीहरूले पत्तै पाएनन्।

काम गरेको चार महिना पुगेपछि त्यहाँ काम लगाउने साहुकामा नयाँ कामदार आएपछि आफूहरू निस्कनुपरेको त्यो क्षण उनी सम्झन्छन्, ‘साहुले नयाँ काम गर्ने मान्छे ल्याएपछि अब तिमीहरू काम गर्नुपर्दैन, नेपालै फर्क भने। अहिले तिमीहरू दुवै घर गए हुन्छ।’ साहुले यति भनेर गाडीभाडासहित दुई जनालाई भारतीय २५/२५ हजार रुपैयाँ दिएर बिदाइ गरेको कार्कीले बताए।

काम गर्ने घरभन्दा केही तलबाट गाडी चढेसँगै पाँचसात घण्टापछि नेपालको गाडी पाउने ठाउँमा आइपुग्ने ती बालक भन्छन्, ‘हामी दुईजना त्यहाँबाट गाडी चढ्यौं। हामीसँगै अर्का भारतीय दुईजना केटा पनि सोही स्थानबाट गाडी चढे। नेपालको गाडी पाउने ठाउँ हरिद्वारमा हामी बिहानको ३ बजेतिर ओर्लियौं। हामीसँगै ती दुई केटा पनि ओर्लिए।’ हरिद्वारमा नेपालको गाडी कुर्ने क्रममा ती भारतीय पुरुषहरूले भनेको ती बालक सम्झन्छन्, ‘भाइ तिमीहरू पनि नेपाल जाने हो।’ ती बालकको जवाफ थियो, ‘हो हामी नेपाल जान लागेका हौं। तपाईंहरू पनि नेपाल जान लाग्नुभएको हो ?’

भारतीय केटाहरूले ती बालकको प्रश्नको जवाफ दिए, ‘हो हामी पनि नेपाल जान लागेका हौं। ठिक छ, सँगै नेपाल जाऔँ। हामी पानी लिएर आउँछौं, त्यसपछि सँगै नेपालको गाडी चढौंला।’ ती पानी लिन गएका दुईजना पछाडिबाट आएको हामी हेर्दै थियौं । हामी त्यस्तो चनाखो पनि बसेका थिएनौं। आफ्नै तालमै थियौं। एक्कासि पछाडिबाट रुमालले नाकमा छोपेको याद छ । अरू केही याद नै छैन।’

भदौ ६ गते भारतबाट हिँडेको तीन दिनपछि भारतस्थित हरिद्वारको जंगलमा आफूहरूलाई पाएको बालक कार्कीले बताए। ‘हामी ब्युझँदा जंगलको भिरमा थियौं। हामीसँग आफ्नो शरीरमा भएको कपडाबाहेक केही थिएन। ब्यागमा केही नयाँ कपडा बोकेका थियौं, त्यो पनि थिएन। साथमा भएको भारु ५० हजार रूपैयाँ र मोबाइल सबै चोरी भएको थियो,’ जंगलमा आफूहरू ब्युझँदा बखतको क्षण सम्झँदै पीडित कार्कीले भने।

तीन दिनपछि होस आउँदा शरीरभरि घाउ भएको पनि उनी सम्झन्छन्, ‘जंगलमा कहाँ हो, कहाँ कस्तो भिरबाट हामीलाई गुल्टाएका थिए। शरीरभरी घाउ थियो। जिउ पुरै दुखेको थियो। त्यो भिर उक्लनै धेरै समय लाग्यो। हामी दुवैजनालाई जंगल छिचोल्दै दिन बित्यो। बाटो कहीँ देखेनौं।’ शरीरमा चोटसँगै थाकेको अवस्थामा बाटो खोज्दाखोज्दा एउटा गाउँ पुगेर बास बसेको पीडितले सुनाए। आफू बसेको गाउँ पनि भारत नै भएको र पुनः नेपाल फर्कन बाटो सोध्दैखोज्दै दुईचार दिन हिँडेर कोहलपुर राष्ट्रिय निकुञ्ज जंगलमा आइपुगेको उनीहरूको अनुभव छ।

‘कोहलपुर निकुञ्जभित्र छिरेछौं,’ उनले नागरिकसँग भने, ‘त्यहाँ ड्युटी गरिरहेका आर्मीले हामीलाई भेटेसँगै कहाँ जान लागेको किन जंगलको बाटो हिँडेको भनेर सोधपुछ गरे। हामीले सबै वास्तविक बतायौं। उनीहरूले पुनः परिवारका कसैको नम्बर छ भनेर सोधेपछि मैले आमाको नम्बर दिएँ। आर्मी अंकलले आमासँग कुरा गर्नुभयो।’

चार महिनादेखि छोरा सम्पर्कमा नआएपछि छटपटाएकी सचेन्द्रकी आमा बेलकुमारीको मोबाइलमा फोन आयो। त्यो फोनमार्फत आफ्नो छोराबारे थाहा पाएसँगै आर्मीलाई फोनमा बेलकुमारी भन्छिन्, ‘बाबु मेरो छोरालाई मिल्छ भने काठमाडौं आउने गाडी चढाएर पठाइदिनू। यहाँ आएपछि गाडीभाडा मै दिउँला।’ आमाको भनाइ नकार्न नसकी ती सेनाको टोलीले जंगलबाट मूल सडकमा ल्याई गाडी चढाएर पठाएको पीडित कार्कीले बताए।

चैतमा हराएको छोरा भदौ १८ गते काठमाडौं आइपुगेको सचेन्द्रकी आमा बताउँछिन्, ‘यहाँ आउँदा छोराको हालत नाजुक थियो। हामीलाई बाँच्दैन भन्ने लागेको थियो, छोराको साथी अर्जुनका बुबाआमा पनि कोही रहेनछन्। उसको गाडी भाडासमेत मैले तिर्दिएँ। उनीहरूको अवस्था निकै गम्भीर भएकाले हामीले अस्पताल पुर्‍यायौं।’

छोरा चारपाँच महिना हराएकाले आत्तिएकी ती आमाको आँखाबाट अझै आसु रोकिएको थिएन । आफ्नो सुन बेचेर छोरा र छोराको साथी अर्जुनलाई आठ दिनसम्म अस्पतालमा राखी उपचार गराएर घर पुर्‍याएपछि भारत पुर्‍याउने दलाललाई कानुनी सजाय दिलाउनुपर्छ भन्दै धादिङ जिल्ला प्रहरी प्रशासन कार्यालयदेखि मानव बेचबिखन अनुसन्धान ब्युरोसम्म उनी धाइरहेकी छिन्।

‘मेरो छोरालाई विभिन्न प्रलोभन दिलाएर भारत पुर्‍याई यस्तो अवस्थामा नेपाल फर्किएको छ। यसको सजाय उनीहरूलाई अवश्य मिल्नुपर्छ,’ ब्युरोमा उजुरी दिन आएकी ती आमाले आँसुको धारासँगै आफ्नो व्यथा पोखिन्। अहिले पनि छोरालाई पुरै सन्चो नभएको र औषधी खुवाइरहेको उनको गुनासो छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024