भिजिट भिसामा विदेश पठाउने ट्राभल्सका सञ्‍चालक र कर्मचारी पक्राउ

18 Dec, 2023

काठमाडौं : नक्कली कागजात बनाइ भिजिट भिसामा युवायुवतीहरूलाई विदेश पठाउने ट्राभल्सका सञ्‍चालक र कर्मचारी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले निमा छिरिङ ट्राभल्सका सञ्चालक काभ्रेका ३७ वर्षीय मनोज तामाङ र सोही ट्राभल्सका कर्मचारी रामेछापका ३३ वर्षीय पदम लामालाई पक्राउ गरेको हो।

उनीहरूले नक्कली कागजात बनाइ युवायुवतीहरूलाई विदेश पठाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाउने गरेको अनुसन्धानबाट खुलेको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उपरीक्षक केसीका अनुसार अध्यागमनका कर्मचारीमार्फत् ३०० जनालाई भिजिट भिसामा पठाएको खुल्न आएपछि तामाङ र लामालाई नियन्त्रणमा लिएको हो। ठूलो संख्यामा मानव तस्करी हुने गरेको पाएपछि प्रहरीले अध्यागमन कार्यालयका कर्मचारीलाई पनि पक्राउ गरेको छ। प्रहरीले २७ मंसिरमा अध्यागमनका अधिकृत नरवीर खड्कालाई नियन्त्रणमा लिएको हो।

लामा र तामाङले अधिकृत खड्कामार्फत् ३०० जनालाई सेटिङ मिलाएर पठाएको खुलेको हो। उनीहरूले नक्कली कागजातको आधारमा प्रतिव्यक्तिबाट ४० हजारदेखि ५५ हजारसम्म रकम लिइ विदेश पठाउन सहजिकरण गरिदिने गरेको खुलेको छ।

दुवैजनालाई लिखितसम्बन्धी कसुर अपराधमा आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024