भिजिट भिसामा बिदेसिंदै गरेका ६२ महिला र एक पुरुष विमानस्थलबाटै फिर्ता

1 Oct, 2024

प्रायः भिजिट भिसा प्रयोग गरी वैदेशिक रोजगारीमा जानेहरू नै संकटमा पर्ने गरेका छन्, तर विमानस्थलमा हुने सेटिङकै कारण तिनीहरू सजिलै बिदेसिने गरेका छन्। संयोगले भर्खरै ६२ महिला र एक पुरुषलाई विमानस्थलबाट फिर्ता गरिएको छ।

बेरोजगार महिलालाई दुबईमा भिजिट भिसामा पुर्‍याउने र त्यहाँबाट कुबेत र ओमान पु¥याउने एजेन्ट दुर्गम गाउँसम्म फैलिएका छन्। विदेशमा पुगेपछि सबैभन्दा बढी संकटमा पर्ने पनि उनीहरू नै हुने गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज १३ गते मध्यराती मानव बेचबिखनको उच्च जोखिममा परेका ६२ जना महिला र एक पुरुषलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले फिर्ता गरेको हो। एयर अरेबिया विमानबाट ४३ जना र हिमालयन विमानबाट २० जनालाई ब्युरोले नक्कली कागजात भएकै आधारमा एयरपोर्टबाट फिर्ता गरेको जनाएको छ।

आइतबार मध्यरातमा भिजिट भिसामा दुबई उडान भर्ने अवस्थामा सिन्धुपाल्चोकी ४० वर्षीया एक महिलालाई पनि ब्युरो टोलीले विमानस्थलबाट फर्काएको छ। ब्युरो टोलीले उनलाई विदेश जाने कागजात नक्कली रहेको भन्दै फिर्ता गरेको हो। आफूलाई यसरी फिर्ता गरेकोमा उनी आक्रोशित थिइन्।

विमानस्थलबाट फिर्ता गराइएकी उनलाई ब्युरोका एक प्रहरीले सोधे, ‘दिदी, कति पढ्नुभएको छ ?’ उनको जवाफ थियो, ‘मैले एक कक्षा पनि पढेकी छैन। भनौं भने आफ्नो नाम पनि लेख्न आउँदैन। के मेरो कागजात नक्कली हो कि सक्कली ?’

‘हिजोअस्ति गाउँकै दिदीबहिनी यही कागजात हुँदा दुबई जान पाउने मचाहिँ किन नपाउने ?’, उनले प्रश्न गर्दै प्रहरीसँग सोधिन्, ‘ताइ न तुई विनाकारण हामीलाई समाएर ल्याइएको छ। दुःख पाए हामी पाउँछौं, अरूलाई केको टाउको दुखाइ ? पासपोर्ट बनाउने, नागरिकता मिलाउने र दश ठाउँमा जाँदा कोही रोक्न आएनन्। चप्पल फाट्ने गरेर कुद्नुपर्‍यो यसैका लागि। विदेश उड्ने बेलामा समातिनुपर्ने ?’

उनले आक्रोशित हुँदै भनिन्, ‘खुरुक्क हामीलाई पासपोर्ट दिनुस्। हामी दुबई घुम्न जान लागेका हौं ।’ उनी विदेश जान चाहन्थिन्। विदेशमा जस्तो अवस्था आइपरे पनि जान तयार रहेको उनले बताइन्।

भिजिट भिसामा दुबई पुगेपछि उनको गन्तव्य भनेकै कुबेत तथा ओमानमा घरायसी कामका लागि हो। रोजगारको प्रलोभनमा परेकी उनीलाई आफ्नो एजेन्टले खाडी मुलुक पुर्‍याएर राम्रो तलबमा घरायसी काममा लगाउँछ भन्ने मात्रै छ। उनी आफू विदेश जान पाउँदिनँ कि भन्ने गम्भीर चिन्ताले ब्युरोसँग आफ्नो एजेन्टको नामथर पनि खुलाइनन्।

उनीसँगै आइतबार राती ११ः१५ बजे हिमालयन विमानबाट भिजिट भिसामा दुबई जान लागेकी बाँकेकी ४५ वर्षीया एक महिलालाई पनि ब्युरोले विमानस्थलबाट फर्काएको छ। वैदेशिक रोजगारीमा जान लागेको यो उनको पहिलो प्रयास थियो। आफ्नो नाम लेख्न नजान्ने उनले ल्याप्चे लगाएरै सबै कागजात बनाएको बताइन्।

तपाईंको एजेन्ट को हो ? तपाईंलाई कसले विदेशको प्रलोभन देखाएको हो ? कति पैसा बुझाउनुभयो ? एजेन्टको नाम भन्नुस् दिदी भनेर उनीसँग प्रश्न राख्दा उनको जवाफ थियो, ‘औंठा छाप लगाएरै जिन्दगी पार गरियो। खै थाहा छैन मलाई मेरो एजेन्ट को हो ? हामीलाई खुरुक्क पासपोर्ट दिनुस्। म घुम्न जान लागेकी हुँ दुबई।’

उनको शरीरमा सुकिला कपडा पनि थिएनन्। उनलाई हेर्दा भिजिट भिसामा विदेश जान लागे झैं देखिन्नथ्यो। कुबेत या ओमानमा गएर घरमा काम गर्ने उनको उद्देश्य थियो।

दोलखाकी २८ वर्षीया एक युवती पनि वैदेशिक रोजगारीको बहानामा बिदेसिँदै थिइन्। १० कक्षा मात्रै पढेकी उनलाई पनि ब्युरोले गएराती विमानस्थलबाट फर्काएको हो। उनी पनि दुबईमा आफन्त भएको र घुम्नका लागि जान लागेको भन्दै रिसाइरहेकी थिइन्।

घुम्नका लागि पनि तपाईंलाई कसले कागजात बनाइदियो त ? भनेर प्रश्न गर्दा थाहा नभएको उनले जवाफ दिइन्। बरू हामीजस्ता दुःखी र गरिबको पासपोर्ट लिएर तपाईंहरूलाई के फाइदा भन्दै उनले उल्टै ब्युरोमाथि प्रश्न गरेकी थिइन्।

‘तपाईंहरूजस्ता टन्नै नेपाली भिजिट भिसामा गएर दुःख पाएका छन्। त्यसरी गएका महिलाले शारीरिक, मानसिक तथा यौन कार्यमा जबर्जस्ती लाग्नुपरेको छ। तपाईंहरूले दुःख पाउनु नपरोस् भनेर हामीले रोकेका हौं। फेरि तपाईंहरूका कागजात पनि सबै नक्कली छन्। जबसम्म साँचो बोल्नु हुन्न र तपाईंलाई प्रलोभनमा पार्ने एजेन्टका बारेमा भन्नुहुन्न, तबसम्म पासपोर्ट दिने छैनौं’, ब्युरोका प्रहरीले एयरपोर्टबाट फिर्ता गर्नुको कारण खुलाउँदै भने।

ब्युरोले धेरै प्रयास गरेपछि हजार डलर नचिनेको मान्छेलाई दुबई घुम्न जान भनेर दिएको उनले बताइन्, तर उनले आफ्नो एजेन्टको नाम भने खोल्न चाहिनन्। उनको उद्देश्य भनेकै ब्युरोसँग पासपोर्ट लिएर पुनः एजेन्टसँग सम्पर्क गरी विदेश जानु थियो।

विदेश नजाने बरू पासपोर्ट दिनुस् भनेर आआफ्नो एजेन्टको नाम भन्न नचाहेका उनीहरू ब्युरोमाथि आक्रोश पोखिरहेका थिए। हातमा पासपोर्ट, टिकट, नक्कली बैंकिङ कागजसहित केही अमेरिकी डलर बोकेर विदेश उड्नका लागि तयार भएका उनीहरू सबैलाई ब्युरोले फिर्ता गरेको हो। त्यसरी भिजिट भिसामा जान लागेको देश दुबई भन्ने तर आफू जान लागेको गन्तव्य देश नभन्नेमा ती सबै महिला जानकार थिए।

नक्कली कागजपत्र तयार गरी भिजिट भिसाको आवरणमा मानव तस्करीको संगठित गिरोहले नेपाली महिलालाई खाडी मुलुकमा पुर्‍याएर पशुसरह खुलेआम बिक्री गर्ने गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै दैनिक सयौं महिला भिजिट भिसामा युएई भन्दै अन्य देश गइरहेका छन्। केही समयअघि दैनिक रूपमा ब्युरोले एयरपोर्टबाट भिजिट भिसाका नाममा मानव बेचबिखन तथा तस्करीको उच्च जोखिम भएका महिलालाई रोक्ने गरेको थियो। हाल त्यो कार्य बन्द भएको छ। सरकारले घरेलु कामदारमा निषेध गरेको वैदेशिक मुलुकमा इजाजतबेगर एजेन्टले आफ्नो नाम ढाँटी ठूलो संख्यामा महिला पठाउने गरेको छ।

इन्टरपोलअन्तर्गत सप्ताह अपरेसन विभिन्न देशका मानव बेचबिखन अनुसन्धान ब्युरो तथा प्रहरीबिचको सहकार्यमा चलिरहेको छ। अपरेसनको दौरान बेचबिखन तथा तस्करीमा संलग्न व्यक्ति र एजेन्ट पहिचान गर्न सप्ताहव्यापी अभियान सुरु भएको ब्युरोका एसपी गौतम मिश्रले बताए।

‘इन्टरपोलद्वारा सञ्चालित यो अपरेसन सप्ताहमा वीरगञ्ज, विभिन्न नाका र काठमाडौंको त्रिभुवन विमानस्थलमा अपरेसन चलिरहेको छ’, उनले नागरिकसँग भने, ‘मानव बेचबिखनको उच्च जोखिममा परेका महिलालाई उद्धार र सम्झाइबुझाइ गर्ने हो। त्यसरी बेचबिखन र तस्करीमा पार्ने एजेन्टलाई निगरानी गरेर समात्ने हो। यो नै इन्टरपोल र ब्युरोको संयुक्त अपरेसन सप्ताह हो।’ यो सप्ताह पाँच दिनसम्म चल्ने उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024