भिजिट भिसामा कुवेत हिँडेका २२ जना फर्काइए

11 Nov, 2024

अजवी पौड्याल

काठमाडौं : तपाईं भिजिट भिसामा विदेश जानका लागि विमानस्थल पुग्नु भएको छ भने, तपाईंको साथमा उक्त देशको भिसा र बोर्डिङ पास पक्कै हुन्छ। साथमा उक्त देशमा घुम्ने सेडुअल र फर्कने टिकटसमेत साथमा हुन्छ।

तर बिहीबार राति नेपालबाट दुबई हुँदै कुवेत जान लागेका २२ जना महिलाको साथमा भने यी कुनै पनि कागजात थिएनन्। उनीहरूसँग दुबईको भिसा थियो भने बोर्डिङ पास भने कुवेतको थियो। न त उनीहरूको साथमा यात्रा सेड्युल थियो, न त फर्कने टिकट नै। अध्यागमन कर्मचारीले मागेको विवरण बुझाउन नसकेपछि उनीहरू विमानस्थलबाटै फर्काइए।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डम्बर विकका अनुसार, उनीहरूलाई विमानस्थल अध्यागमनले फर्काएको हो। मानव तस्करी भएको हुन सक्ने आंशकामा उनीहरूलाई दुबई उड्न रोक लगाइएको हो। सोधपुछका क्रममा उनीहरूले रोजगारीका लागि कुवेत जान लागेको बताएका थिए। तर उनीहरूको साथमा भने भिजिट भिसामात्रै थियो।

अध्यागमन कार्यालयका अनुसार उनीहरू हिमालयन एयरलाइन्सको विमानबाट दुबई हुँदै कुवेत जान लागेका थिए। टिकट र भिसामै बदमासी देखिएपछि युवतीहरूलाई मानव तस्करी गरिएको हुन सक्ने अनुमानमा फिर्ता गरिएको अध्यागमन कार्यालयले बताएको छ। दुबई हुँदै कुवेत जान लागेका उनीहरूसँग एकातिरको बोर्डिङ पास र अर्कातिरको भिसा भएको फेला परेपछि राति नै फिर्ता गरिएको थियो।

पछिल्लो समय भिजिट भिसाको बहानामा वैदेशिक रोजगारीमा खाडी पु¥याएर मानव बेचबिखन गर्ने गिरोह सक्रिय रहेको छ। खाडी पुगेका महिलाहरू बन्धक बनाएर यौन तथा श्रम शोषणमा पर्ने, घरेलु हिंसामा पर्ने गरेका छन्। गैरकानुनी रूपमा खाडीमा काम गर्दा उनीहरूले पाउने पारिश्रमिकका विषयमा समेत उचित तरिकाले सम्बोधन नहुने समस्या देखिएको छ।

एसएसपी डम्बर विक भन्छन्, ‘सरकारले भिजिट भिसामा विदेश जानका लागि निश्चित नियमहरू लागू गरेको छ। उक्त नियम पालना नगरी विदेश जान लागेका जोकोही कारबाही र छानबिनको दायरामा पर्ने गर्छन्।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024