भारत-पाकिस्तान सिमामा अध्ययनरत नेपाली विद्यार्थी भन्छन्- रातभर ब्ल्याकआउट हुन्छ, साइरन बजिरहन्छ

9 May, 2025

पछिल्लो समय फेरि भारत र पाकिस्तानबीच तनाब बढेको छ।

भारतको कश्चिमस्थित पहलगाम घटनामा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएपछि त्यसको बदला लिन भारतले ‘अप्रेसन सिन्दूर’ सञ्चालन गरेपछि पाकिस्तानले त्यसको जबाफ दिन थालेको छ।

रातिराति दुवै तर्फको आकाशमा आतंकित तुल्याउने गरी साइरन बज्छन् र मिसाइल देखा पर्छन्।

युद्धलाई निम्तो दिने गरी बढिरहेको दुवै पक्षको यस्तो गतिविधिको चेपुवामा नेपाली विद्यार्थी पनि परेका छन्।

भारतको पञ्जाब राज्यस्थित लभ्ली प्रोफेसन विश्वविद्यालय (एलपियू) मा पढ्दै आएकी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ६ की सुष्मा सिग्देलले आफूहरू असुरक्षित रहेको बताइन्।

पञ्जाब क्षेत्र अहिले दिउँसो शान्त छ। रातिराति आकाशमा ड्रोनहरू देखापर्छन्। तीन दिनयता त्यो क्रम चलिरहेको छ। भारतीय प्रतिरक्षा प्रणालीले ड्रोनहरू निष्तेज बनाए पनि आफूहरू आतंकित बनिरहेको नेपाली विद्यार्थी सिग्देलले बताइन्।

सिग्देल अध्ययनरत विश्वविद्यालय पाकिस्तान सँगको सीमाक्षेत्रबाट १६४ किलोमिटर दुरीमा पर्छ। तर पाकिस्तानले आक्रमण बढाएकाले कतिबेला ड्रोन खस्ने हो भन्ने भय रहेको उनले बताइन्।

‘यहाँ राति पूरै ब्ल्याक आउट (अँध्यारो) हुन्छ, विद्युत आपूर्ति बन्द हुन्छ। चारैतिर साइरन कराएको सुनिन्छ। हामीलाई विश्वविद्यालय बाहिर जान दिइएको छैन। विश्वविद्यालयको पठनपाठन दुई–तीन दिनका लागि बन्द भइसकेको छ,’ उनले शुक्रबार बिहान सेतोपाटीसँग भनिन्।

बिहीबार पञ्जाब राज्यकै जालन्धरनजिकै ड्रोन देखिएको थियो। प्रतिरक्षा प्रणालीले त्यसलाई निष्तेज बनाएको सिग्देलले बताइन्।

एपियूमा अहिले तीन सय विद्यार्थी अध्ययनरत छिन्। सिग्देलसहित केही विद्यार्थीको परीक्षा चलिरहेको छ। तर कलेजले परीक्षा अनलाइनबाटै दिन मिल्ने बनाइने भएकाले विद्यार्थीहरूलाई टिकट खोजेर घर फर्कने सक्ने बताएको छ।

एपियूले त्यस्तो सूचना निकालेपछि केही नेपाली विद्यार्थी जोखिम लिएर भए पनि घर फर्कन थालेका छन्।

‘घरबाट पनि जतिसक्दो चाँडो नेपाल आओ भनिरहनुभएको छ। केही साथीहरू घर फर्की सक्नुभयो। हामी चाहिँ डराइरहेका छौं। यस्तो जोखिमपूर्ण अवस्थामा कसरी विश्वविद्यालय छाडेर निस्कनु,’ उनले भनिन्।

नेपाली दूतावास, नेपालको परराष्ट्र मन्त्रालयलगायत सरकारी निकायले केही नभनेकाले आफूहरू अन्योलमा रहेको उनले बताइन्। ‘यस्तो त्रासमा बस्नुभन्दा घर फर्कने वातावरण बनाइदिए सहज हुन्थ्यो,’ उनले भनिन्।

यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत र पाकिस्तानमा रहेका नेपालीहरूको जीवन रक्षाका लागि गम्भीर पहल गर्न माग गरेका छन्।

भारत र पाकिस्तानमा नेपालीहरू अध्ययन, श्रम र व्यवसायमा रहेको उल्लेख गर्दै महामन्त्री शर्माले उनीहरूको जीवन युद्धले जोखिममा पर्ने भएकोले अविलम्ब गम्भीर पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन्।

‘भारत र पाकिस्तानमा हजारौं नेपाली विद्यार्थी अध्ययनमा, लाखौं नेपाली श्रम र व्यवसायमा छन्, युद्धले जोखिममा पर्दैछ तिनको जीवन। कश्मिरको आतंकवादी हमलामा हाम्रा युवा सुदीप न्यौपाने मारिएको स्मरण गर्दै प्रधानमन्त्रीज्यू, त्यहाँ रहेका नेपालीको जीवन रक्षामा अविलम्ब गम्भीर पहल गरियोस्,’ महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।

पछिल्लो समय भारत र पाकिस्तानबीच तनावको स्थिति सिर्जना भएको छ। गए राति पनि भारत र पाकिस्तानबीच ड्रोन र मिसाइल हानाहान भएको थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024