भारतमा नेपाली विद्यार्थीको मृत्युको छानबिन माग गर्दै जोगबनी नाकामा प्रदर्शन

19 Feb, 2025

गणेश लम्साल

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु र विद्यार्थीहरूमाथि भएको दुव्र्यवहारको विरोधमा विराटनगर जोगबनी नाकामा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि कलेजले गरेको विभेदपूर्ण व्यवहारको विरोधमा विराटनगरको महेन्द्र मोरङका विधार्थीले मंगलबार नेपाल–भारत सीमा क्षेत्रको जोगबनी नाकामा प्रदर्शन गरेका हुन् ।

प्लेकार्ड लिएर नाराबाजीसहित प्रर्दशन गरेर नेपाली विद्यार्थीले केहीबेर नाका अवरुद्ध समेत पारेका थिए । विद्यार्थीले घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कानुनी कार्वाही गर्न माग गरेका छन् ।

महेन्द्र मोरङ क्याम्पसबाट सुरु भएको प्रदर्शन रोडशेष चोकहुँदै नेपाल–भारत सीमा जोगबनी नाकामा पुगेर विद्यार्थीले प्रर्दशन गरेका थिए ।

ओडिसा राज्यको भुवनेश्वरस्थित केआइआइटीको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । लम्साल गेस्ट हाउसकै कोठामा मृत फेला परेपछि कलेजमा अध्ययनरत अन्य नेपाली विद्यार्थीले घटना छानबिन गर्न माग गरेका थिए । तर, कलेज प्रशासनले उनीहरूलाई होस्टलबाटै निकालेको थियो । तर पछि चौतर्फी दबाबछि फेरी कलेजले निकालिएका बिद्यार्थीलाई फिर्ता बोलाएको थियो ।

भारत ओडिसाको केआइआइटीमा भएको घटना निष्पक्ष छानबिन गराउन माग गर्दै विराटनगर मोरङ क्याम्पसका चार विद्यार्थी संगठनरुले संयुक्त आन्दोलन घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेलले प्रकृतिको न्यायका लागि आफूहरू संघर्षमा उत्रिएको बताए । प्रदर्शनमा उत्रिएका विद्यार्थीले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई आउजाउमा अवरोध समेत गरेका छन् । महेन्द्र मोरङ क्याम्पसका चार विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024