भारतमा ‘जनता कर्फ्यू’, घर फर्किरहेका नेपाली बीचबाटाेमै अलपत्र

22 Mar, 2020

डोटी – आइतबार बिहानैबाट भारतमा लागेको ‘जनता कर्फ्यू’का कारण घर फर्कदै गरेका नेपाली बीचबाटोमै अलपत्र परेका छन्। कर्फ्यूका कारण यात्रुबाहक सवारी साधन ठप्प गरिएको छ। जसका कारण घर फर्कदै आधाबाटो पुगेका नेपालीहरु बीचबाटोमै अलपत्र परेका हुन्।

मथुरा बसपार्कमा मात्रै अहिले हजारौँ नेपाली अलपत्र अवस्थामा रहेको डोटी बोगटान फुड्सील गाउँपालिका–७ का भक्त कुडमालले बताए। नागरिकसंग म्यासेञ्जरमा कुरा गर्दै उनले भने, ‘यहाँ नेपालका सबैजसो ठाउँका हजारौँ नेपाली अलपत्र छौ। बस, ट्रेन केही पनि चलिरहेका छैन्।’

अलपत्र परेका अधिकांश नेपालीहरु बर्षौपछि परिवारैसहित नेपाल फर्किरहेका छन्। जसमा स–साना बालबालिकादेखि लिएर वृद्धवृद्धा समेत छन्।

‘कामकाज सबै बन्द भएपछि परिवारैसहित आएका छौ,’ अछामको ढकारी गाउँपालिका–३ का विराज सुजीले दुखेसो पोखे,‘यहाँ त अलपत्र परियो ! न खान, केही पाइन्छ, न पानी ! बच्चाहरु भोकले छट्पटाइसके।’ बसपार्क नजिकका होटल र पसलहरु समेत पूर्ण रुपमा बन्द रहेको उनले बताए।

भारतमा नोवेल कोरोनाभाईरस (कोभिड–१९)को संक्रमण भेटिएपछि मार्चको १५ तारिखबाट होटल तथा कलकारखानाहरु बन्द भएका छन्। जसले त्यहाँ कार्यरत नेपाली श्रमिकहरु कामबिहिन बनेका छन्। कैयौँ काम गर्ने ठाउँमै बसिरहेकाहरु समेत आश्रयबिहिन बनेका छन्। ‘होटल बन्द भयो। कहाँ बस्ने ? के खाने ? ठेगान भएन्। खुल्ने समय दुईमहिनाभन्दा बढी नाघ्नसक्ने सुनियो,’ झापा विर्तामोडका सुशान्त राईले भने,‘त्यसैले घर फर्किन लागेको। यहाँ(मथुरा) अलपत्र परियो।’

कोरोनाको संक्रमण फैलिएपछि कामगर्ने ठाउँहरु धमाधम बन्दभएपछि धेरै युवाहरुले तलब समेत नपाएको गुनासो छ। ‘फर्कनेबेला तलबै पाईएन्, चोखो भाँडा(सवारी भाडा) बोकेर हिडिरहेका छौ,’कुडमालले भने,‘यस्तोमा यसरी बिचबाटोमा अलपत्र पर्दा निकै कठिनाई भैरहेको छ।’

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले केहीदिनअघि देशवासीका नाममा सम्बोधन गरेर आइतबार बिहान ९ बजेदेखि राति ९ बजेसम्म ‘जनता कफ्र्यू’ आह्वान गरेका थिए। सो ‘कफ्र्यू त्यसपछि कति लामो चल्ने हो ?’ भनेर भारतमा अन्योलको स्थिति छ। भारतमा शनिबारसम्म तीनसय १५ भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। चारजनाको मृत्यु भइसकेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024