भारतबाट फर्किएर बाख्रा पालनमा

9 Apr, 2020

खोटाङ– भारतको नयाँ दिल्लीको एक होटलमा दैनिक १२ घण्टा काम गरिरहँदा खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका दुर्गाबहादुर खड्कालाई आफ्नै गाउँमा केही गर्ने वुद्धि पलायो। रात दिन १२ घण्टा काम गर्ने हो भने ‘आफ्नै गाउँमा पैसा कमाउन सकिन्छ’ भन्ने सिकाई भएपछि दुर्गाबहादुर मासिक १५ हजारको काम चटक्क छाडेर घर फर्किए र बाख्रा पालन सुरु गरे। नभन्दै हाल उनको बाख्रा पालनबाट घरैमा अपत्यारिलो कमाई भइरहेको छ। हाल बाख्रा पालनबाट मासिक २०–२५ हजार आम्दानी भइरहेको खड्काले बताए। 

परदेशमा अरुको अरनखटनमा काम गर्नुभन्दा आफ्नै स्वविबेकमा श्रम गर्ने योजना अनुसार गाउँ फर्किएका खड्काले दुई वर्ष अघिदेखि बाख्रा पालन सुरु गरेका हुन्। उनको खोरमा हाल सय वटाभन्दा बढि बाख्रा छन्। उनको दिनचर्य बाख्रालाई घाँस पानी दिन र जंगलमा लगेर चराउनमै बितिरहेको छ। बाख्रा पालनमा उनको वडाभरी चर्चा हुने गरेको छ। गाउँपालिकाको पशुसेवा शाखाबाट उनले उन्नत जातको बोका अनुदान पाएको बताए। तीन सन्तानको बाबु उनलाई व्यवसायीक बाख्रा पालनमा उनकै श्रीमतीले साथ दिइरहेकी छन्। ‘धन कमाउन विदेश जान पर्छ भन्ने छैन,’ २७ वर्षीय खड्काले भने, ‘कृषि र पशुपालनमा लगानी गर्ने हो भने गाउँमै आर्थिक आर्जन गर्न सकिने रहेछ।’

छोटो समयमै बाख्रापालनबाट अगुवा किसानको परिचय बनाएका खड्काले खसी बाख्राको संख्या क्रमशः बढाउँदै लैजाने बताएका छन्। खड्काले आफ्नै करिब १५ रोपनीभन्दा बढि जग्गामा अलैंची खेती पनि लगाएका छन्। गत वर्ष २ मन अलैंची उत्पादन भएको खड्काले बताए। 

आफ्नै गाउँमा श्रम गर्ने र पसिना बगाउने युवा अत्यान्तै कम छन्। गाउँमै उत्पादनमुलक काम गर्नुपर्छ भन्ने सोच भएका युवाको कमी छ। अधिकांश युवा विदेश जाँदा गाउँमा महिला, बृद्धबृद्धा र बालबालिका मात्र बाँकी छन्। ठाउँ–ठाउँका खेतीयोग्य जमिन बाँझिदै गएका छन्। यही कारण गाउँमै बाख्रा पालन र अलैंची खेतीमा लागेको खड्काले बताए। विदेश जान चाहने साथीभाईलाई उनले आफ्नै ठाउँमा श्रम गर्न सुझाव दिने गरेको छिमेकी दिपेश खड्काले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024