भारतका बाढीपहिरो प्रभावित क्षेत्र नेपाली कामदारको गन्तव्य

17 Jul, 2023

कञ्चनपुर — वर्षायामको सुरुवातसँगै यतिबेला उत्तर भारतको मैदानी क्षेत्र भीषण वर्षाले जलमग्न भएको छ । उत्तर भारतकै हिमाञ्चल र उत्तराखण्डको जनजीवन बाढी पहिरोले निकै कष्टकर बनेको अवस्थामा नेपाली कामदारहरु भने रोपाइँ सकेर त्यतै हानिएका छन् ।

हिमाञ्चलमा यसै साता भीषण वर्षापछि आएको बाढी पहिरोले ठूलो क्षति पुर्‍यायो । बाढी र पहिरोले ठूलो मात्रामा धनजनको क्षति गरेको भारतीय सञ्चार माध्यममा समाचार प्रकाशित भएका छन् । यस्तो अवस्थामा नेपालीहरु कामको खोजीका लागि त्यस क्षेत्रमा जान लागेका हुन् ।

सुदूरपश्चिमका युवाहरूका लागि रोजगारीको प्रमुख गन्तव्य हिमाञ्चल र उत्तराखण्डको पहाडी क्षेत्र नै मानिन्छ ।बर्दिया भुरीगाउँका लक्ष्मण खड्का शुक्रबार गड्डाचौकी नाका हुँदै भारत पसे । ३२ वर्षदेखि भारतको हिमाञ्चलका पहाडमा रोजगारी गर्दै आएका उनी खेतीपातीको काम सकेर साथीभाइसँगै सिमला हिँडेका हुन् ।

५२ वर्षीय खड्का आफ्नै उमेरका तीन जना साथीभाइसँगै सिमला जान लागेका हुन् । त्यहाँ स्याउ टिप्ने र बाढी पहिरोले भत्केको सडक मर्मतसम्भारको काम पाउने आसमा सिमला जान लागेको खड्का बताउँछन् । चैत वैशाखमा गहुँबाली भित्र्याउन र नयाँ वर्ष मनाउन घर फर्किएका उनी रोपाइँ सकेर कामको खोजीमा भारत जान लागेका हुन् । उनी अब दसैँ मनाउन फर्किने छन् । शुक्रबार साँझ सीमावर्ती बजार बनबासाबाट बस चढेपछि शनिबार बिहान सिमला पुगिने उनले बताए ।

‘बाढी पहिरोले सबै तहसनहस गरेको छ भन्ने सुनिएको छ,’ खड्काले भने, ‘जे भए पनि घरमा बसेर के गर्नु, अलि अलि काम गरेर घर खर्च त चलाउनु पर्‍यो ।’ उनले बाढी र पहिरोले क्षति पुर्‍याएको बारे सिमलामा भएका आफन्त र साथीभाइसँग पनि सोधपुछ गरेको बताए । साथीहरुले अवस्था सुधार हुँदै गरेको जानकारी दिएपछि काममा जान उनी तयार भएका हुन् ।

‘सँगैका साथीहरु उतै छन्, जहान परिवारसहित बसेका छन्, बाढीले धेरै तहसनहस गरेको छ भनिरहेका छन्,’ बर्दिया भुरीगाउँकै धीर बहादुर खड्काले भने, ‘अब स्याउ टिप्न काम खोज्नेहरुको तँछाड मछाड हुने बेला सुरु भयो, ढिलो गए काम नै नपाइने समस्या हुन्छ ।’ यतिबेला भने सिमलामा स्याउ टिप्ने काम सुरु भइसक्छ । र भदौ असोजसम्मै भ्याइ नभ्याइ हुन्छ ।

नयाँ वर्ष मनाउन घर फर्किएकाहरु अहिले रोपाइँको काम सकेर काम खोज्दै भारतको उत्तराखण्ड र हिमाञ्चलतिर जानेको गड्डाचौकी नाकामा चहलपहल बढ्न थालेको छ । सुदूरपश्चिमसँगै लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश कामदारहरु यही बाटो भारत प्रवेश गर्छन् । पूर्ण रुपमा अझै रोपाइँ सकिएको छैन । साउन पहिलो सातादेखि कामको खोजीमा भारत पस्नेको चाप केही दिनमा अझै बढ्छ ।

विगतमा थारु समुदायका युवाहरु काम खोज्दै भारतका पहाडी र हिमाली भेगमा जाने चलन निकै कम थियो । तर केही वर्षयता थारु समुदायका युवाहरु समेत उत्तराखण्ड र हिमाञ्चलका पहाडी क्षेत्रमा पुग्न थालेका छन् । उक्त क्षेत्रमा भारी बोक्ने, सडक तथा भवन निर्माण र स्याउ टिप्ने काम पाइन्छ । यसवाहेक कतिपयले होटेलमा पनि काम पाउँछन् ।

नियमित रुपमा स्याउ टिप्न जानेहरुलाई अहिले मालिकले नै फोन गरेर बोलाउने गरेको युवा कामदारहरू बताउँछन् । कोरोना संक्रमणका बेला स्याउ बगानका मालिकहरु नाकामै आएर नेपाली कामदार लगेका थिए । अहिले पनि बाढी पहिरोले तहसनहस भएका बेला स्याउ टिप्ने र ढुवानी गर्ने काम धेरै पाइने नेपाली कामदारको आसा छ । सिमलामा भने सडक निर्माणको काम पनि धेरै पाउने उनीहरु बताउँछन् । यसपटक बाढीले धेरै सडकहरु बगाएका कारण अझ बढी काम पाइने उनीहरुको आसा छ ।

‘स्याउ टिप्ने काम सुरु भइसक्यो, चाँडो आउनुस् भनेर साथीले बोलाएको छ,’ कैलाली लम्कीका दिपक चौधरीले भने, ‘त्यही भएर हतार हतारमा रोपाइँ सकेर जान लाग्यौं ।’ उनीहरु ठूलो समूहमा सिमला जान लागेका हुन् । कतिपय नियमित जान लागेका छन् भने पहिलो पटक जान लागेकाहरूको संख्या पनि उल्लेख्य छ ।

सिमलामा विगतमा स्याउ टिप्नेदेखि ग्रेडिङ गर्ने र ढुवानी गर्ने काम सबै कामदारबाटै हुन्थ्यो । तर अचेल टिपेको स्याउ ग्रेडिङको काम मेसिनबाट हुन थालेपछि टिप्ने र ढुवानीको काम मात्रै पाइन्छ । यसरी स्याउ टिप्दा वा ढुवानी गर्दा दिनको ४/५ सय भारु ज्याला पाइन्छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024