भरतपुरका ३४ हजारभन्दा बढी घरका सदस्य वैदेशिक रोजगारीमा

12 Jun, 2024

भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् ।

वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पार्श्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मंगलबार यहाँ आयोजना गरेको अन्तर्क्रियामा सो तथ्यांक सार्वजनिक गरिएको हो । हाल ३० हजार पाँच सय ५५ जना विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका छन् ।

हेबिटासका कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६.१२ प्रतिशत पुरुष र २३.८८ प्रतिशत महिला छन् । वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै ब्राह्मण–क्षेत्री परिवारका छन् । ब्राह्मण–क्षेत्री १७ हजार पाँच सय ६५ जना वैदेशिक रोजगारीमा गएको कार्यपत्र प्रस्तुत गर्दै उनले आदिवासी, जनजाति (पहाडी) आठ हजार पाँच सय ७२ जना, आदिवासी जनजाति (मधेशी) एक हजार ७२ जना, अरू दलित समुदाय र अन्य समुदायका रहेका बताए ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वैदेशिक रोजगारीमा रहेका नगरवासीको तथ्यांकसँगै उनीहरूको अवस्था बुझेर भावी नीति तथा कार्यक्रममा उनीहरूलाई समेट्न सहज हुने बताए। महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक परमेश्वर खनालले देशका अन्य पालिकाको तुलनामा भरतपुर महानगरबाट वैदेशिक रोजगारीमा जानेको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024