भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब रेमिट्यान्स

16 Oct, 2024

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ। समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ गत भदौ महिनामा दुई खर्ब २८ अर्ब ३७ करोड रेमिट्यान्स भित्रिएको थियो।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार अघिल्लो वर्षको सोही अवधिमारेमिट्यान्स आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो। गत साउन महिनामा एक खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकको तथ्यांक छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ७६ हजार चार सय ८५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४० हजार पाँच सय ८३ रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७४ हजार चार सय ५५ र ३२ हजार चार रहेको थियो। -रासस

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024