रेणु त्वानाबासु
भक्तपुर : भक्तपुरका इँटाभट्टाहरूमा आइतबारदेखि इँटा पोल्ने काम सुरु भएको छ। आइतबार जिल्लाका सबै इँटाभट्टाहरूले एकैचोटी काम सुरु भएको हो।
इँटाभट्टाको वरिपरिका खेतहरूमा काँचो इँटा उत्पादन थालिएको थियो। काँचो इँटा सुक्न थालेसँगै पोल्ने काम सुरु भएको हो।
भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले यो वर्ष गत वर्षभन्दा आधा इँटाभट्टा मात्रै सञ्चालन हुन सकेको बताए।
उनका अनुसार जिल्लाभर यो वर्ष ३५ वटा मात्रै इँटाभट्टाहरू सञ्चालनमा आउन सकेका छन्। यसअघि यहाँ ६० वटाभन्दा बढी इँटाभट्टाहरू सञ्चालनमा थिए।
अध्यक्ष ह्योम्वाका अनुसार जिल्लाका इँटाभट्टाबाट १४ हजार भन्दा वढीले प्रत्यक्ष रोजगारी मिलेको छ। इँटा पार्ने, बोक्ने, पोल्नेलगायतका कामका लागि मजदुर आवश्यक पर्दछ। एउटा इँटाभट्टाका लागि झण्डै चार सय मजदुर आवश्यक पर्ने उनको भनाइ छ।
गत वर्षभन्दा यो वर्ष इँटा पोल्ने काम पनि ढिला गरी सुरु भएको छ। गत वर्ष पुस १० गते इँटा पोल्नका लागि भट्टामा आगो लगाउन थालेको थियो।
तर यो वर्ष मंसिर ४ को निर्वाचनका कारण काम पनि ढिला गरी मात्रै सरु भएको भक्तपुर इँटाभट्टा व्यवसायी संघले जनाएको छ।