काठमाडौँ — वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी गत आर्थिक वर्ष सरकारले १ अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गरेकोमा ५ करोड १६ लाख रुपैयाँको मात्र बिक्री भयो । उक्त बचतपत्रमा सरकारले ९ प्रतिशत ब्याज प्रदान गरेको थियो, जुन सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर भन्दा बढी हो ।
सरकारले जारी गरेको उक्त बचतपत्रमध्ये औसतमा ९५ प्रतिशतभन्दा बढी बिक्री नहुने गरेको विभिन्न सरकारी अध्ययन प्रतिवेदनले देखाएका छन् । जसअनुसार पछिल्लो १५ वर्षमा जारी भएको यस्तो बचतपत्रको औसत बिक्री ५.०९ प्रतिशत मात्र छ ।
आर्थिक वर्ष ०६६/६७ देखि चालु आवसम्म सरकारले १७ अर्ब ६ करोड ५५ लाख रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरिसकेको छ । तीमध्ये ८६ करोड ८१ लाख रुपैयाँ अथवा ५.०९ प्रतिशत मात्र बिक्री भएको छ भने बाँकी ९४.९१ प्रतिशत बिक्री भएको छैन । हरेक वर्ष बचतपत्रमा प्रदान गरिने ब्याजदर सोही अवधिमा बैंकहरूले निक्षेपमा दिनेभन्दा बढी छ ।
यस वर्ष पनि सरकारले ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको छ । चालु आव आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबारदेखि बचतपत्र बिक्रीका लागि सूचना जारी गरेको हो । सो बचतपत्रमा ८.५० प्रतिशत ब्याजदर पाइन्छ । यो ब्याजदर हाल बैंकहरूले निक्षेपमा प्रदान गर्नेभन्दा झन्डै दोब्बर हो । गत पुससम्म बैंकहरूले निक्षेपमा प्रदान गर्ने औसत ब्याजदर ४.७५ प्रतिशत छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबारदेखि चैत १८ सम्मका लागि बचतपत्र खरिदको म्याद तोकेको छ ।
यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवसीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न पाउँछन् । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रयोगमा ल्याएको अनलाइन सफ्टवेयरमार्फत आफू रहेको स्थानबाटै खरिद र दोस्रो बजारमा कारोबार गर्न सकिन्छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीको पैसा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने उद्देश्यले सरकारले हरेक वर्ष आन्तरिक ऋण उठाउने प्रयोजनका लागि वैदेशिक रोजगार बचतपत्र जारी गर्दै आएको हो । यस बचतपत्रको ब्याजदर बैंकहरूले प्रदान गर्ने निक्षेपको ब्याजदरभन्दा मात्र नभई अरू विभिन्न प्रकारका ऋणपत्रभन्दा पनि धेरै हुन्छ । यसरी सबैभन्दा महँगो ब्याजदर पाइने भए पनि यो बचतपत्रको बिक्री किन न्यून हुन्छ भन्ने चासोको विषय बनेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख गोपीकृष्ण कोइरालाले अनेक प्रयास गर्दा पनि औसतमा ९५ प्रतिशत वैदेशिक रोजगार बचतपत्र बिक्री नहुने गरेको स्विकारे । बचतपत्रबारे धेरैलाई जानकारी नहुनु, बचतपत्रमा पाइने ब्याजदर सम्बन्धित व्यक्तिको आशातित प्रतिफलभन्दा कम हुनुलगायत कारणले जारी गरेकोमध्ये ठूलो हिस्सा बिक्री नभएको उनको भनाइ छ ।
‘यस वर्ष जारी गरेकोमध्ये सबै बचतपत्र बिक्री होस् भन्ने उद्देश्यले व्यापक प्रचारप्रसारमा लागेका छौं । यसका लागि वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय, विभिन्न मुलुकमा रहेका नेपाली राजदूतावास, वैदेशिक रोजगारीसँग सम्बन्धित संघ/संगठन/निकायलगायतलाई औपचारिक पत्राचार गर्छौं,’ उनले भने, ‘प्रचारप्रसारका लागि यस पटक सामाजिक सञ्जालमार्फत पनि प्रचारप्रसार गर्ने योजना छ ।’
नागरिक बचतपत्र सबै बिक्री हुने तर वैदेशिक रोजगार बचतपत्रको ठूलो हिस्सा बिक्री नहुनुले प्रचारप्रसारलगायत कही न कही संरचनामा समस्या रहेको पुष्टि हुने जानकारहरू बताउँछन् । ‘विदेशमा रहेका धेरैलाई बचतपत्रबारे जानकारी नै छैन, केहीलाई जानकारी भए पनि त्यसप्रति विश्वासनीयता छैन,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘रोजगारीकै लागि विदेश जाने नेपालीको लगानी प्राथमिकता घरजग्गामै रहेकाले पनि बचतपत्र धेरै बिक्री नभएको हो ।’
आव ०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको निष्कासन र व्यवस्थापन कार्य सुरु गरिएपश्चात् ०७५/७६ बाहेकका सबै आवमा यस्तो बचतपत्र बिक्रीका लागि आह्वान भएको छ । ०६६/६७ देखि ०८१/८२ सम्मका १५ वर्षमा २७ पटक बचतपत्र जारी भइसकेको छ ।
बचतपत्रको परिचालन सुरुका वर्षदेखि नै अपेक्षित रूपमा हुन सकेको देखिँदैन । पहिलो वर्ष १ अर्बको बचतपत्र आह्वान भएकामा ४० लाख बिक्री भएको थियो भने दोस्रो वर्ष ५ अर्ब निष्कासन आह्वान भएकामा ३४ लाख मात्र बिक्री भयो । त्यसपछिका अधिकांश वर्षमा बचतपत्रको आह्वान ५० करोडभन्दा कम छ । यस अवधिमा निष्कासन भएका सबै वैदेशिक रोजगार बचतपत्रहरू ५ वर्ष अवधिका छन् । यस अवधिमा वैदेशिक रोजगार बचतपत्रको ब्याजदर सोही वर्षको मुद्दती निक्षेपको तुलनामा ०.०१ देखि २.४२ प्रतिशतसम्म उच्च देखिन्छ । तथापि, ब्याजदरको प्रभाव बचतपत्र खरिदमा अपेक्षित रूपमा बिक्री भएको छैन ।
सरकारले बजेट घाटा परिपूर्तिका लागि आन्तरिक ऋण परिचालनमा हाल ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र प्रचलनमा ल्याउँदै आएको छ । यी उपकरणमध्ये ट्रेजरी बिल्स र विकास ऋणपत्र बैंक तथा वित्तीय संस्थाबाट ऋण उठाउने प्रयोजनका लागि र नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र नागरिकबाट ऋण उठाउने प्रयोजनका लागि निष्कासन गरिन्छ ।