कान्तिपुर संवाददाता
काठमाडौँ — बेल्जियममा काम लगाइदिन्छु भन्दै महिलालाई बैंकक पुर्याई बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्का छन् ।
उनले लमजुङकी २६ वर्षीया महिलालाई बेल्जियमको होटलमा मासिक एक लाखदेखि डेढ लाख रुपैयाँ तलबमा हेल्परको काममा लगाइदिन्छु भनेर प्रलोभनमा पारी ८ लाख ५४ हजार रुपैयाँ लिएर बैंकक पुर्याएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
खड्का र कमल बस्नेतले २२ मे २०१९ पीडित महिलालाई भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुँदै थाइल्याण्ड र कम्बोडियासम्म पुर्याएको पाइएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी अनुराग द्धिवेदीले बताए ।
ती पीडित महिलालाई खड्काले थाइल्याण्डमा पुर्याएर १५ दिनसम्म कोठामा राखेर भारतीय पर्विन्दर सिंहसमेतलाई ल्याई यौन शोषण गराएको र कसैलाई भनेमा मारेर बेपत्ता दिने धम्कीसमेत दिएको खुलेको छ ।
प्रतिवादी खड्काले मलेसियाबाट हाजी साब भन्ने मानिसले भिषा लगाई बेल्जियम पठाउँछ भनी बैंककबाट मलेसिया पठाएकोमा निज हाजी साबले पीडित महिलालाई बैंकक जाने कागजातहरु पुगेको छैन भनेपछि उनी अलपत्र परेकी थिइन् ।
मलेसियामा अलपत्र परेकी ती महिला आफन्तको सम्पर्कमा आएपछि १५ मार्च २०२० मा भारतको कलकत्ता हुँदै नेपाल फर्कन सफल भएकी थिइन् । पीडितले असोज १८ मा ब्यूरोमा किटानी जाहेरी दिएको र सोही जाहेरीको आधारमा प्रतिवादी खड्कालाई बिहीबार सिनामङ्गलबाट पक्राउ गरेको एसपी द्धिवेदीले बताए । प्रतिवादी खड्कालाई काठमाडौं जिल्ला अदालतबाट दिन ४ को म्याद अनुमति लिई मानब बेचविखन तथा ओसापसार (नियन्त्रण ) ऐन २०६४ अन्तर्गत कारबाही थालेको ब्यूरोले जनाएको छ ।