बेलायत र फ्रान्स पठाउने भन्दै करोडौं ठगी गर्ने तीन पक्राउ

3 Apr, 2024

वैदेशिक रोजगारीमा बेलायत र फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ परेका छन्।

वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार तीनजनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घरभई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका–१० घरभई हाल काठमाडौंको टोखा बस्ने ३२ वर्षीय जीवराज केसी र म्याग्दी घरभई हाल कास्कीको पोखरा महानगरपालिका–१ बस्ने ३८ वर्षीया नन्ददेवी पुन छन्।

पक्राउ परेकामध्ये झापाका चौधरीले सुमन राईसहित ३५ जनालाई बेलायत पठाइदिन्छु भन्दै ९ लाखदेखि २० लाखसम्म लिएर ६ करोड ठगेको आरोप छ। उनले उठाई भारतका विभिन्न स्थानमा आइरिस एक्सपर्ट कन्सल्टेन्सीमार्फत पठाइदिने भन्दै कतिपय पीडितलाई अजरबैजान सम्म पुर्‍याएर छाडेर फरार भएको आरोप छ।

यस्तै बाँकेका केसीले फ्रान्स पठाइदिने भन्दै सुमनकुमार बस्नेतसँग ११ लाख ६५ हजार ठगी गरेको आरोप छ। उनलाई प्रहरीले काठमाडौं बसपार्कबाट पक्राउ गरेको जनाएको छ।

यस्तै म्याग्दीकी पुनले बेलायत पठाउने भन्दै रोशनी चौधरीबाट सात लाख ६७ हजार रकम लिएर ठगी गरेको आरोप छ। उनलाई पोखराको लेकसाइडबाट प्रहरीले पक्राउ गरेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024