बेरोजगारलाई बिनाधितो कर्जा

13 Nov, 2020

भवानी भट्ट

कञ्चनपुर — कोरोना महामारीका कारण रोजगारी गुमाएका र स्वदेशमै बेरोजगार युवालाई लक्ष्य गरी भीमदत्त नगरपालिकाले धितो र ब्याजबिनै ऋण दिने कार्यक्रम अघि सारेको छ । मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत उत्पादनमूलक व्यवसाय गर्न चाहनेलाई उक्त ऋण प्रदान गरिनेछ ।

कार्यक्रम सञ्चालनका लागि बिहीबार भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ । मेयर सुरेन्द्र विष्ट र बैंकका प्रबन्धक कमलबहादुर चन्दले सम्झौतामा हस्ताक्षर गरे । कार्यक्रमअन्तर्गत नगरपालिकाले नेपाल बैंक लिमिटेडमा कोष खडा गर्नेछ । त्यसपछि नगरवासीबाट व्यावसायिक योजनासहितको आवेदन माग गरिनेछ । 

आवेदन दिएकाहरूलाई उद्यमशीलता तालिम पनि प्रदान गरिनेछ । आवेदन लिनेदेखि छनोट कार्यमा नगरपालिका र बैंकका प्रतिनिधिको सहभागिता रहनेछ । यसरी छानिएकालाई नगरपालिकाको सिफारिसमा बैंकले ५ वर्षका लागि १ देखि ५ लाखसम्म ऋण उपलब्ध गराउनेछ । ‘पहिलो चरणमा हामीले एक सय युवालाई उद्यमी बनाउने लक्ष्य राखेका छौं,’ मेयर विष्टले भने, ‘त्यहीअनुसार कोष पनि निर्माण गर्नेछौं ।’ आवश्यकताअनुसार ऋणको सीमा र कोषको रकमसमेत बढाउन सकिने उनले बताए । कृषि, पशुपन्छीपालन, जडीबुटी, गैरकृषिलगायतका उत्पादन क्षेत्रमा लगानी गरिने भएको हो । भीमदत्त नगरपालिकाले कोरोनाका कारण भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरूसँग व्यवसाय सञ्चालन गर्नेबारे अध्ययन गरेको थियो । त्यति बेला ११ सय युवाले लगानी प्राप्त भए उत्पादनमूलक व्यवसाय गर्ने योजना बनाएका थिए । तिनैलाई लक्ष्य गरेर मेयर उद्यमशीलता विकास कार्यक्रम लागु गरिएको हो । 

‘भारतलगायत तेस्रो मुलुकबाट फर्केर बेरोजगार भएकाहरूलाई स्वरोजगार बनाउने र उनीहरूको सीपको सदुपयोग गर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको हो,’ मेयर विष्टले भने, ‘यसबाहेक समुदायमा रहेका पुराना सीपलाई पनि परिमार्जन गरेर बढीभन्दा बढी लाभ लिने गरी उत्पादनमा जोड दिएका छौं ।’ नेपाल बैंक लिमिटेडले नगरपालिकाबाट बनाइएको कोषका आधारमा ऋण लगानी गर्नेछ । कोषको दोब्बरसम्म ऋण दिन सकिने प्रबन्धक चन्दले जानकारी दिए । ‘नगरपालिकाले सिफारिस गरेको सात दिनभित्र ऋण प्रदान गरिनेछ,’ उनले भने, ‘व्यवसाय गर्न चाहनेलाई सहज ढंगले ऋण प्रदान गरिनेछ ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024