‘बेरुतमा रातभर डरलाग्दो विस्फोट र आकाशमा आगोको ज्वाला मात्रै देखिन्छ’

7 Oct, 2024

काठमाडौँ — लेबनानको राजधानी बेरुतमा कार्यरत नेपाली श्रमिक एकसाता देखि डरैडरमा बाँचिरहेका छन् । इजरायलले बेरुतमा नै आक्रमण केन्द्रित गर्न थालेपछि नेपाली त्रसित बन्न थालेका छन् । इजरायलले शनिबार राति पनि बेरुतको मध्यभागमा श्रृखलाबद्ध आक्रमण गरेको थियो । हेजबुल्लाहको पूर्वाधार र हतियार भण्डारमा लक्षित गरी आक्रमण गरिरहेको इजरायलको दाबी छ ।

‘शुक्रबारभन्दा शनिबारको रात अझ बढी डरलाग्दो भयो । ठूला-ठूला विस्फोटका आवाजहरू सुनिए । आकाशमा आगोको ज्वालाहरू देखिन्थ्यो,’ बेरुतमा कार्यरत कास्कीकी सरू गुरुङले भनिन्,‘यो अहिलेसम्मको सबैभन्दा डरलाग्दो आवाज थियो ।’

इजरायलले लेबनानमा आक्रमण सुरु गरेदेखि १४ सय जनाको मृत्यु भइसकेको छ । एक लाखभन्दा बढी विस्थापित भइसकेका छन् । गत सोमबार इजरायलले लेबनानको भूमिमा प्रवेश गरी आक्रमण सुरु गरेको थियो । गत मंगलबार इजरायलले १८ वर्षपछि बेरुतमा आक्रमण गरेको हो । शनिबार राति पनि शृंखलाबद्ध हवाई आक्रमण गर्‍यो । पछिल्लो आक्रमणमा मृत्यु हुनेको सख्या स्पष्ट हुन सकेको छैन ।

गुरुङले बेरुतमा पनि पछिल्लो अवस्था थप खतरापूर्ण बन्दै गएको बताइन् । बेरुतआसपासमा झन्डै एक हजार नेपाली कार्यरत छन् । ‘यहाँको दिनदिनै वातावरण जोखिमपूर्ण बन्दै छ । यहाँ बस्ने कि फिर्ने भनेर सोच्न बाध्य बनाएको छ,’ उनले भनिन्,‘यहाँ राति विस्फोट भएको क्षण त आजै अन्तिम दिन हो कि जस्तो लाग्छ ।’

उनले इजरायलले ‘टार्गेट’ गरिएको ठाँउमा मात्रै आक्रमण गर्ने सुन्दा अलि डर कम हुने बताइन् । ‘यहाँ इजरायलले जथाभावी आक्रमण गर्दैन, हेजबुल्लाहका लडाकु भएका ठाउँमा मात्र आक्रमण गर्ने गरेको सूचनाहरू आइरहन्छ,’ उनले भनिन्,‘ हेजबुल्लाहलाई मात्रै टार्गेट गरेका भन्ने सुनिन्छ । त्यो सत्य हो भने हामीजस्तो सर्वसाधारण अरुलाई असर नगर्ला । लेबनान देशैलाई टार्गेट गरेको हो भने त हामी बस्ने कुरा हुँदैन । तुरुन्तै स्वदेश फिर्नुपर्ने अवस्था हुन्छ ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024