बेपत्ता विपिनकी बहिनी : दाजुको पर्खाइमै बिते दुई तिहार

5 Nov, 2024

भवानी भट्ट

कञ्चनपुर — तिहारको अन्तिम दिन भाईटीका । सबैजना दिदी बहिनीहरु बिहानैदेखि फूल खोज्ने र माला बनाउने काममा व्यस्त छन् । भीमदत्त नगरपालिका-३ भासीकी १७ वर्षीया पुष्पा जोशीलाई भने तिहारको कुनै उत्साह छैन ।

‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका दाई विपिन जोशी एक वर्षभन्दा बढी समयदेखि बेपत्ता भएका कारण उनलाई तिहारको कुनै उत्साह देखिँदैन । गत वर्ष पनि उनले दाई आउने आसमा मखमलीको माला बनाएकी थिइन् । तर विपिनको कुनै अत्तोपत्तो लागेन ।

‘दाईलाई जतिबेला आएपनि लगाउला भनेर माला बनाएकी थिएँ, त्यो त्यतिकै सुकेर गयो,’ पुष्पाले भनिन्, ‘यसपाली पनि धेरै फूल रोपेकी थिए, दाईको कुनै अत्तोपत्तो नै छैन ।’ महेन्द्रनगरमै आएस्सी गरिरहेकी पुष्पाले दाईलाई हरेक तिहारमा टीका लगाउँथिन् । इजरायल गएपछि भने दुई तिहारमा दाई नहुदा उनी निराश देखिन्छिन् ।

‘दाईकै पर्खाइमा दुई तिहार गए,’ पुष्पाले भनिन्, ‘अब त अति भयो, दाईलाई छिट्टै ल्याईदिनुपर्‍यो ।’ रात दिन दाइकै सम्झना आउने र सपनीमा समेत देखिने गरेको उनले बताइन् । सानैदेखि साथीभाई जस्तै भएका कारण पनि उनलाई दाइको यादले अझ बढी सचाउने गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत ४९ जना विद्यार्थी गत वर्ष लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । उनीहरु गएको एक महिना पनि नपुग्दै इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समुहले आक्रमण गरेको थियो । आक्रमणमा पनि १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो ।

इजरायली सुरक्षा बल (आईडीएफ) ले विपिन हमास समुहको नियन्त्रणमा रहेको पुष्टि गरेको थियो । तर उनको अवस्था अझै पनि अज्ञात रहेको छ । विपिनको परिवारले उनको रिहाइका लागि पहल गरिदिन गृह मन्त्री देखि परराष्ट्रमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म पटक पटक भेटिसकेका छन् । सबैबाट पहल भइरहेको छिट्ट रिहाइ हुने आश्वासन मात्रै पाउने गरेको विपिनका बुवा महानन्द जोशीले बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024