बिहे गराउँदै युवती तस्करी

6 Mar, 2015

महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हलमा बुधबार २३ युवती एकसाथ प्रवेश गरे। केहीबेरमै वृत्तचित्र प्रदर्शन सुरु भयो– ‘ब्लाइन्ड माउन्टेन’। चीनको ग्रामीण भेगमा सहरिया चिनियाँ युवती विवाहका नाममा कसरी बेचिन्छन् भन्ने देखाइएको उक्त वृत्तचित्र हेर्नेहरू थिए, चीन र कोरिया जान ठिक्क परेका युवती। युवती तस्करीबारे मौखिक रूपले सम्झाउँदा नपत्याएपछि सिआइबीले १९–२० वर्ष उमेरका उनीहरूलाई वृत्तचित्र देखाएको थियो।

‘विवाहको नकाबमा नेपाली युवतीलाई तस्करहरूले चीन र कोरिया पठाउने गरेकाले उनीहरूलाई त्यहाँ पुगेपछिको वास्तविकता बुझाउन वृत्तचित्र देखाएका हौं,’ चीन र कोरियामा हुने मानव तस्करीबारे अनुसन्धान गरिरहेकी सिआइबीकी एसपी किरण बज्राचार्यले नागरिकसँग भनिन्। 

वृत्तचित्रमा सहरमा बस्ने एक युवकले सुन्दर चिनियाँ युवतीलाई उत्तरी चीनको सुदूर गाउँमा बस्ने अर्का युवकसँग विवाह गराएर बेचिदिन्छन्। त्यसपछि ती युवती वैवाहिक बलात्कारको शिकार हुनुका साथै अन्य थुप्रै यातना सहन बाध्य हुन्छिन्। उनलाई छोरो जन्माउन दिइने अनेकथरि यातना वृत्तचित्रले समेटेको छ।

वृत्तचित्रको यो कथा चीनमा यातना सहन नसकेपछि भागेर फागुन ९ गते नेपाल आउन सफल पर्वतकी संगीता घिमिरेसँग मिल्छ। नेपाली र चिनियाँ गिरोहले चिनियाँ युवकसँग विवाह गराइदिएर उनलाई चीन पठाएका थिए। त्यसबापत गिरोहले चिनियाँ युवकसँग १५ लाख रुपैयाँ असुलेको थियो। 

‘विवाह गरेर गएपछि केटासँग बस्नुपर्दैन, त्यो त चीन छिर्ने बहाना मात्र हो, त्यहाँ पुगेपछि महिनाको ५०–६० हजार रुपैयाँको जागिर पाइन्छ, गएको ६ महिनापछि परिवार पनि लैजान पाइन्छ’– यस्तायस्तै आश्वासन पाएपछि संगीता चीन पुगेकी थिइन्।

उनै संगीता केटाको यातना सहन नसकी झ्यालबाट हाम्फालेर नेपाल फर्केकी थिइन्।  ‘चीनमा एक सन्तानको नीति लागु भएपछि त्यहाँ कसरी छोरीको भ्रुणमै हत्या हुन थाल्यो र छोरा मात्र जन्माउन थालियो भन्ने कथा वृत्तचित्रमा छ। छोरीको भ्रुणमै हत्या हुँदा केटाको मात्र संख्या बढेर विवाहका लागि महिला अभाव हुने गरेको र विवाहका नाममा बेचिने गरेको वृत्तचित्रमा देखाइएको छ,’ एसपी बज्राचार्यले भनिन्। 

विवाहको नकाबमा महिला तस्करी हुने गरेको भेउ पाएपछि अनुसन्धानमा जुटेको सिआइबीलाई संगीताको नेपाल फर्काइ ढुंगा खोज्दा देउता मिलेजस्तो भएको छ। मोटो रकम लिई नेपाली युवतीहरू विवाहका नाममा चीन र कोरिया पठाउने एक गिरोहलाई पक्राउ गरेकै दिन सोमबार संगीता पनि सिआइबीको सम्पर्कमा आएकी थिइन्। संयोग कस्तो भने, जसले संगीतालाई चीन पठाएको थियो त्यही गिरोह त्यो दिन पक्राउ परेको थियो। 

‘मसँग मात्र सुतेर हुँदैन, अरूसँग पनि सुत्नुपर्छ भन्दै कुट्ने पिट्ने गरेका छन्,’ नेपाल फर्केपछि वी च्याट्मा कुराकानी गर्दा सँगै गएका युवतीको भनाइ उद्धृत गर्दै संगीताले भनिन्।

उनले वी च्याटमा भएका कुराकानी देखाएकी पनि थिइन्। अन्य ६ युवती चिनियाँ पुरुषसँग विवाह गरी संगीतासँगै चीन गएका थिए। उनीहरू सबै उत्तरपूर्वी चीनको हार्विन सहर पुगेर अलग भएका थिए। 

संगीता चुनदेवीस्थित छेरु इन्टरनेसनल म्यारिज ब्युरो प्रालिमार्फत चिनियाँ पुरुषसँग विवाह गरी गत माघ २० मा चीनतर्फ लागेकी थिइन्। सोमबार सिआइबीले छेरु इन्टरनेसनलमा छापा मार्दा त्यहाँ चिनियाँ र कोरियाली पुरुषसँग विवाह गरी जान ठिक्क परेका झन्डै दुई दर्जन युवती भेटिएका थिए। उनीहरूलाई नै वृत्तचित्र देखाउन सिआइबीले बुधबार महाराजगन्ज ल्याएको थियो। 

सिआइबीले छेरु इन्टरनेसनलकी सञ्चालिका छेरु शेर्पा, सहयोगी विपुल नगरकोटी, कोरियाली एजेन्ट पार्क ही चाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। 

‘वृत्तचित्र हेरेपछि आधा दर्जनजति युवतीले डिभोर्स गर्ने इच्छा देखाएका छन्। हामी उनीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सोचिरहेका छौं,’ एसपी बज्राचार्यले भनिन्, ‘बाँकीलाई पनि सम्झाउने, बुझाउने काम भइरहेको छ।’ 

वृत्तचित्र हेर्न आएका २३ युवतीमध्ये १९ जनाले कोरियाली र अन्यले चिनियाँ पुरुषसँग विवाह गरिसकेका छन्। सिआइबीका अनुसार पछिल्ला दिन १५ नेपाली युवतीलाई गिरोहले विवाह गराई चीन पुर्याकएको तथ्यांक भेटिएको छ। सिआइबी अहिले देशभर यस्ता विवाह गराउने ब्युरो कति छन् भन्ने खोजीमा छ।

एसपी बज्राचार्यले हालसम्म विवाह गराउने २३ वटा ब्युरो कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको भेटिएको जानकारी दिइन्। ‘गरिब र त्यसमा पनि मंगोलियन जातिका युवतीलाई गिरोहले फसाउने गरेको पाइएको छ। मंगोलियन अनुहार चिनियाँसँग मिल्ने भएकाले झुक्याएर लैजान सहज हुन सक्छ। त्यस्ता अनुहारका गरिब युवतीलाई रोजगारी लगाइदिने प्रलोभनमा विवाहको नाटक रची पठाउने गरेको पाएका छौं,’ एसपी बज्राचार्यले भनिन्। 

गिरोहले चिनियाँ र कोरियाली पुरुषलाई नेपाल बोलाई जिल्ला प्रशासन कार्यालयमा लगी नेपाली युवतीसँग कोर्ट म्यारिज गर्ने गरेको पाइएको छ। विवाह दर्ता प्रमाणपत्रलाई परराष्ट्रमार्फत प्रमाणीकरण गरेपछि उनीहरूले काठमाडौंस्थित चिनियाँ दूतावासबाट चीनको भिसा लिने गरेका छन्। त्यसपछि गिरोहले युवतीलाई चिनियाँ तथा कोरियाली पुरुषको जिम्मा लगाई सम्बन्धित देश पठाउने गरेका छन्। 

‘चीनमा महिलाको संख्या कम हुँदा सन्तान जन्माउनकै लागि मात्र भनेर चिनियाँ पुरुषले ठूलो रकम खर्चेर नेपाली युवती लाने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गिरोहले युवतीलाई प्रलोभन देखाई फसाउने गरेका छन्। यो कार्यमा अन्तर्राष्ट्रिय गिरोहको समेत संलग्नता देखिएको छ। हामी उनीहरूसम्म पुग्ने प्रयास गरिरहेका छौं,’ एसपी बज्राचार्यले भनिन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024