केही समययता मानव तस्करहरूले विभिन्न प्रलोभनमा पारेर पश्चिम नेपालका पहाडी जिल्लाहरूबाट ठूलो सङ्ख्यामा बालबालिकालाई भारत लैजान थालेपछि बालबालिकालाई एक्लै भारत जान कडा रोक लगाइएको छ ।
तीनदेखि दस जनासम्मको समूहमा एक्लै भारत जान थालेका सयौँ बालबालिकासँग सोधपुछ गर्दा उनीहरू जोखिमपूर्ण काममा र विभिन्न प्रलोभनमा परेर जान थालेको पाइएपछि उनीहरूलाई फिर्ता गर्नुका साथै त्यस्ता बालबालिकालाई भारत जान कडाइका साथ रोक लगाइएको सीमा प्रहरीले जनाएको छ ।
खेतीपाती सकिएपछि मानव तस्करको प्रलोभनमा परेर देखासिकीमै भारत जाने बालबालिकाको सङ्ख्या बढ्न थालेको छ । बीचमै पढाइ छोडेका तथा राम्रो काम र दामको लोभमा परेर अधिकांश बालबालिका भारत पस्ने गरेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाले त्यस्ता बालबालिकालाई हाल आएर सीमामा कडाइका साथ रोक्न थालेको छ ।
अभिभावकलाई मोबाइल सम्पर्क गर्दा उनीहरूले आफ्ना छोरोछोरीलाई काम गर्न जान दिन अनुरोध गर्ने गरेको प्रहरीको भनाइ छ । कतिपय अभिभावकले त आफूलाई जानकारी नै नदिएर बालबालिका भारततर्फ गएको जनाएका छन् ।
हामीले अभिभावकबिना बालबालिकालाई एक्लै भारत जान दिँदैनौँ, सीमामा रोकेर अभिभावकको जिम्मा लगाउँछौँ, सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक शिव वलीले भन्नुभयोे, भारतमा रहेका केही अभिभावकले फोन गरेर किन आउन नदिएको भन्दै उल्टै विवाद गर्छन् । नेपालगञ्ज नाकाबाट दैनिकजसो दर्जनभन्दा बढी बालबालिका एक्लै भारत जाने गरेका छन् ।
तर, उनीहरू एक्लै हुँदैनन् । सीमापारि मानव तस्करले उनीहरूको प्रतीक्षा गरिरहेका हुन्छन् भने बालबालिका त्यहाँ पुगेपछि सँगै लिएर जाने गरेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पनि एक्लै भारत जान लागेका बालबालिकालाई रोकेर फिर्ता पठाउने गरेको छ ।
भारतबाट मजदुरी गरेर गाउँ फर्केका युवाको मोबाइल, लबाइ–खवाइ देखेर बालबालिका त्यसकै प्रलोभनमा पर्ने गर्छन् र भारत पस्ने गरेका हुन् । भारतमा मजदुरी गरेर राम्रो कमाइ हुने भ्रम गाउँमा छ । बढीजसो कर्णाली प्रदेशका बालबालिका काम खोज्दै भारत पुग्छन् । कतिपय बालबालिका विद्यालयबाटै भागेर भारत पुग्छन् ।
सीमास्थित माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार नेपालगञ्ज नाकाबाट भागेरै भारत जाने बालबालिकाको सङ्ख्या बढदै गएको छ । हराएको भन्दै खोजतलासका लागि ५४२ निवेदन परेका तथ्याङ्क छ ।