बालकुमारी घटनामा कहीँ न कहीँ कमजोरी भयो, समीक्षा गर्दैछौं : प्रधानमन्त्री

2 Jan, 2024

१४ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनामा सरकारको तर्फबाट कमजोरी भएको स्वीकार गरेका छन् ।

शनिबार काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन कार्यक्रममा उनले मन्त्रीको गाडी जल्नुमा र गोली चलाउनुमा सुरक्षा निकायबाट कमजोरी भएको बताएका हुन् ।

‘हाम्रो मन्त्रीजीको पीएसओ (निजी सुरक्षा अधिकारी) ले परिस्थितिको राम्रो आँकलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटी भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ । अनि, त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटीपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोर्ट नआउँदासम्म निलम्बन गरिएको छ’, उनले भने ।

पानी जहाज बनाउने कामको लागि कोरियाली भाषा परीक्षा दिँदा फेल भएकाहरुले उत्पादनमूलक कामको भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग राख्दै गरेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो ।

भाषा परीक्षामा फेल भएकाहरुले पुनः परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । ३ पुसमा अदालतले निवेदन दिन १८ जनाले मात्र फारम भर्न दिन आदेश दिएको थियो । प्रधानमन्त्री प्रचण्डले अदालतको निर्णयको कारण पनि यो घटना भएको आशय व्यक्त गरे ।

‘यहाँ यो प्रक्रियामा कहीँ न कहीँ अदालतले १८ जना, जसले निवेदन दिए, उनीहरुलाई परीक्षा दिन स्वीकृति दिनुको अर्थ अरुलाई नदिएको भन्ने जस्तो अर्थ लगाउने ठाउँ देखिँदैन । पछि त फेरि हिजै ३ बजे अदालतले सबैले परीक्षा दिन पाउने भनेपछि एउटै निर्णय पहिलेनै पुस ३ गते भइदिएको भए यो दुर्भाग्यपूर्ण घटना घटनानै थिएन । त्यसकारण कहीँ न कहीँ त्रुटीहरु भएका छन भन्ने हामीले समीक्षा गर्दैछौं’ उनले भने ।

शनिबार नै मन्त्रिपरिषद बैक बसेर मृतका परिवारलाई राहत दिने निर्णय गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । उनले वैदेशिक रोजगारीका विषयमा आफूहरु संवेदनशील रहेको र देशभित्रै रोजगारी सिर्जनामा ध्यान दिने बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024