‘बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य १५ वर्षभित्र’

22 Apr, 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्ष भित्र ‘बाध्यताको वैदेशिक रोजगारी’ अन्त्य गरिने दाबी गरेका छन्।

मन्त्रालयले आइतबार आयोजना गरेको ‘वृहत् रोजगार मेला’ सम्बन्धी छलफलमा श्रममन्त्री अर्यालले भने, ‘हामीले अहिलेदेखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ।’

श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रबीच समन्वयका लागि वृहत् रोजगारी मेला आयोजना गर्ने भएको छ। मेला आयोजनाबारे सुझाव लिन मन्त्रालयले छलफल आयोजना गरेको हो।

‘मेलामा रोजगारदाताले आफूलाई चाहिने श्रमिकमा हुनुपर्ने सीपको विषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीको लागि आवश्यक पर्ने सीपको बारेमा जानकारी पाउनेछन्,’ मन्त्री अर्यालले भने, ‘मेलामा उपस्थित तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहे अनुसारको तालिम सञ्चालन रणनीति बनाउन सक्नेछन्।’

मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरी रहेका प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ।

त्यस्तै, छलफल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न मेलाको आयोजना गर्न लागेको बताए।

छलफलमा नगरपालिका संघ अध्यक्ष भीमप्रसाद ढुगांना, होटेल व्यवसायी संघ अध्यक्ष विनायक शाह, उद्योग वाणिज्य महासङ्घ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल ट्रेड युनियन उपाध्यक्ष तेजेन्द्र कार्की, रोजगार विज्ञ रामेश्वर नेपाल लगायतले सुझाव दिएका थिए। आईएलओका प्रतिनिधि सौरभ जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्दप्रसाद रिजालले आन्तरिक रोजगारी प्रवर्द्धन गरी वैदेशिक रोजगारीमा रहेको परनिर्भरतालाई कम गर्न मेलाको परिकल्पना भएको बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024