बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ

17 Apr, 2023

गणेश लम्साल

‘अब म पनि यो अनकन्टार पहाडमा बस्दिनँ। छोरीले १२ कक्षाको जाँच दिएपछि विराटनगरतिर बसाइँ झर्छु। यहाँ बसेर के गर्नु, आफ्नो समाज नै छैन। आपतविपतमा साह्रै गाह्रो पर्छ।’

मध्यपहाडी लोकमार्गले छोएको कोसी प्रदेशको पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिका– ४ ओदान गाउँका मुक्तिनाथ ढकालको दुःखेसो हो यो। मुक्तिनाथको ओदाने गाउँमा मनग्गे खेतीबारी छ। बाख्रापालन गरेर वार्षिक तीन लाखभन्दा बढी कमाउँछन् उनी। तर, उनलाई एउटै चिन्ता छ– पहाडमा समाज नै छैन। भएका छरछिमेकीहरू सबै बसाइँँ सरेर गइसकेका छन्। मुक्तिनाथका अनुसार उनको गाउँमा ३० घरपरिवार बसोबास गर्थे। तर, अहिले २८ घर बसाइँँ सरेर गैसकेका छन्। कोही विदेशमा छन् त कोही तराईतिर।

पहिले बाँझो जमिनलाई आवाद गराउने मेहनती मानिसहरू बसाइँ सरेर गएपछि अहिले ओदाने गाउँ उजाड बनेको छ। खेतबारी बाँझै छन्, घरहरू पनि अलपत्र अवस्थामा छन्। यसैले मुक्तिनाथको पनि मन भाँचिएको छ। उनी पनि तराई झर्ने पक्का योजनामा छन्। भन्छन्, ‘यसपालि छोरीले जाँच दिएपछि म पनि मोरङको विराटचोक झर्छु। समाज नै नभएपछि एक्लै कसरी बस्ने ?’

मानिसहरू बसाइँ सर्न थालेपछि गाउँमा बाँदरको आतंक पनि उस्तै बढेको छ। मुक्तिनाथले लगाएको मकैबाली सबै बाँदरले सखाप पार्छ। पाँचथरबाट तेह्रथुम, धनकुटा हुँदै भोजपुर, खोटाङ भएर पश्चिम बैतडीसम्म पुग्ने मध्यपहाडी लोकमार्गले धेरैको जनजीवन सहज मात्र बनाएको छैन, विकट पहाडी जिल्लाहरूको यात्रा पनि सहज बनाएको छ। आम्दानीका स्रोत पनि बढेका छन्। मानिसहरू होटेल र होमस्टे खोलेर आम्दानी गर्न थालेका छन्। पहाडका डाँडाहरू घुम्न आउनेहरूको संख्या पनि बढेको छ। तर, पहाडमै बसेर पनि पैसा कमाउन सकिन्छ भन्ने सोच विकास हुन सकेको छैन। त्यसैले विदेश गएकाहरू हुन् वा थोरै धितो भएकाहरू– थातथलो छोड्ने क्रम रोकिएको छैन।

सरकारले मधेस झरेकाहरूलाई पहाड फर्काउन आकर्षक योजना ल्याउनुपर्ने कृषक मुक्तिनाथ बताउँछन्। छिमेकीहरू सबै बसाइँ हिँडेपछि आफू चाहेर पनि थातथलोमा बस्न नसकेको उनको भनाइ छ। ‘जति माया लागे पनि आफ्नो गाउँठाउँ छाड्न बाध्य भएको छु,’ उनले भने। ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेहरूको मन रुवाउँछ।’ गीतकार लब प्रधानका यी शब्दहरू अझै यथार्थ बनिरहेको छ। उद्यमको प्रशस्त सम्भावना भए पनि मानिसहरू भौतिक सुविधाका लागि उत्पादनशील पहाड छाडेर तराई झर्ने र विदेशिने क्रम जारी छ। ओदानेका मुक्तिनाथले भनेझैँ तीनै तहका सरकारले नागरिकहरूलाई पहाड फर्काउने योजना ल्याए पहाडहरू उजाड रहने थिएनन्। ‘पहाडमा सम्भावना बढेको छ। तर, बसाइँ सरेकाहरूलाई थातथलो फर्काउन स्थानीय सरकारले मात्र सक्दैन। संघ र प्रदेश सरकारले विशेष नीति बनाएर अभियान नै चलाउनुपर्छ,’ अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले भने।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024