बन्धक बनाइएका चार बंगलादेशीको उद्धार, चार आरोपी पक्राउ

25 Mar, 2024

काठमाडौं : बंगलादेशी नागरिकलाई वैदेशिक रोजगारका लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ।

विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए राति उनीहरूलाई उद्धार गरी उक्त अपराधमा संलग्न चार जनालाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

काठमाडौं महानगपालिका–१६ पकनाजोलस्थित निभाना ग्रीन पिस होम नामक होटलको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो। उनका अनुसार उक्त कार्यमा संलग्न रहेका बंगालादेशी नागरिक नुरूल हुडा, सामिम अहमद, एमडी मासुम बिल्लाह र प्रणय कुमारलाई पक्राउ गरिएको हो।

गिरोहले पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगदसमेत लगेर जबर्जस्ती बन्धक बनाइराखेको पीडितहरूले प्रहरीमा बयान दिएका छन्।

उनीहरूमाथि अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको पोखरेलले बताए। पीडितहरूलाई नेपालस्थित बंगलादेशी राजदूतावासमार्फत पठाइने जनाइएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024