बढ्यो रेमिट्यान्स,पाँच महिनामा चार खर्ब १६ अर्ब भित्रियो

14 Jan, 2021

चालू आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा चार खर्ब १६ अर्ब रुपियाँ रेमिट्यान्समार्फत भित्रिएको छ । मुलुकमा कोरोना सङ्क्रमण सुरु भएयता उकालो लागिरहेको रेमिट्यान्स बढ्ने क्रम जारी छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आवको पाँच महिनामा अघिल्लो वर्षको तुलनामा १०.९ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैङ्कले बुधबार प्रकाशन गरेको तथ्याङ्कअनुसार चालू आवको मङ्सिरसम्म चार खर्ब १६ अर्ब ८१ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई तीन अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ११.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७.६ प्रतिशतले बढेको थियो । 

आन्तरिक कर्जा छ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा कुल आन्तरिक कर्जा छ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.५ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ मङ्सिर मसान्तमा यस्तो कर्जा १६.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७.३ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा मङ्सिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १३.१ प्रतिशतले बढेको छ । 

निक्षेप परिचालन ६.५ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २१.६ प्रतिशतले बढेको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.१ प्रतिशत, ३३.१ प्रतिशत र ५०.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.१ प्रतिशत, ३२.० प्रतिशत र ४९.१ प्रतिशत रहेको थियो । बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.७ प्रतिशत रहेको छ । २०७६ मङ्सिर मसान्तमा यस्तो निक्षेपको अंश ४५.४ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पनि ७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.२ प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७७ मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १२.९ प्रतिशतले

बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्प प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ७.० प्रतिशत, विकास बैङ्कहरूको कर्जा प्रवाह ९.० प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ०.४ प्रतिशतले बढेको छ ।

२०७७ मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.१ प्रतिशत कर्जा चालू सम्पत्ति

(कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.१ प्रतिशतले, ओभर ड्राफ्ट कर्जा ६.८ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा ९.९ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.६ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ३४.६ प्रतिशतले र ट्रस्ट रिसिट (आयात) कर्जा १.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ३.३ प्रतिशतले घटेको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024