‘बढी पढ्दा’ शंकरले पाएनन् चौकीदारको जागिर!

16 Oct, 2024

हरेक मान्छे धेरै भन्दा धेरै पढ्न चाहन्छ। पढ्नुको उद्देश्य शिक्षित बन्नु मात्रै नभई सहजै रोजगारी प्राप्त गर्नु पनि हो। रोजगारी जीविकोपार्जनसँग जोडिएको हुन्छ। त्यसैले मान्छे जीविकोपार्जनका लागि धेरै पढ्छ।

तर टीकापुर नगरपालिका वडा नम्बर १ एकता नगर शिविरका २२ वर्षका शंकर परियारले धेरै पढेका कारण जागिर पाएनन्। उनले टीकापुर नगरपालिकाको पाले (चौकीदार) पदमा आवेदन दिएका थिए। बैशाख तिर खोलिएको विज्ञापनमा उनीसँगै ८ जनाले आवेदन दिएका थिए। असारको अन्त्यतिर उनीहरूको मौखिक परीक्षा भएको थियो। जसमध्ये उनको नाम वैकल्पिकमा राखियो।

शंकरले आफ्नो नाम वैकल्पिकमा देखेपछि टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुलाई भेटेर प्रश्न गरे। आफूले प्रश्न गर्दा मेयर थारुले ‘तपाईँको शैक्षिक योग्यता धेरै भयो’ भनेर जवाफ दिएको उनी बताउँछन् । यस्तो जवाफ सुनेपछि उनी अचम्मित परे। त्यति बेला उनलाई शैक्षिक योग्यता धेरै भएर जागिरबाट वञ्चित भएकोमा पढेकोमा पछुतो लाग्यो।

उनले अछामको रामारोसन गाउँपालिका वडा नम्बर ६ भाटाकाटियास्थित पूर्णचन्द्र माविबाट २०७७ सालमा प्लस टु उत्तीर्ण गरेका छन्। उनी टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना भए। उनले तेस्रो सेमेस्टरसम्म अध्ययन पनि गरे। उनले चाहेर पनि अध्ययनलाई अघि बढाउन सकेनन्।

उनले परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण पढाई छोड्नु परेको बताए। उनी घरको जेठो सन्तान हुन। उनका १ बहिनी र २ भाइ छन्। उनी विवाहित समेत हुन। उनका एक छोरा पनि छन्। परिवारको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा छ।

परिवारको आर्थिक अवस्थाकै कारण उनले पालेको जागिर खान खोजेका थिए। तैपनि उनी उत्तीर्ण हुन सकेनन्। नगर प्रमुख थारुले शैक्षिक योग्यता धेरै भएको कुरा गरेपछि उनले आफ्नो अवस्था बारे बताए।

‘जागिर जस्तोसुकै होस्। मेरा लागि निकै आवश्यक छ’ उनले भने–‘हिजो पढाई छोड्नु पर्‍यो आज देश छोड्नु पर्ने स्थिति आएको छ।’

उनी पढाइमा कमजोर छैनन्। उनले अहिलेसम्म कुनै कक्षामा अनुत्तीर्ण नभएको बताए।

यता भर्ना प्रक्रियामा संलग्न रहेका टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन चौधरीले शैक्षिक योग्यता धेरै भएर जागिर नपाएको कुरामा सत्यता नरहेको बताए। उनले प्रक्रियामा योग्य व्यक्ति उत्तीर्ण हुँदा उनी (परियार) अनुत्तीर्ण भएको बताए।https://nagariknews.nagariknetwork.com/social-affairs/1451802-1728996139.html

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024