बढाइएको अभिमुखीकरण तालिम शुल्क फिर्ता गर्न ट्रेड युनियन कांग्रेसको माग

26 Dec, 2023

नेपाल ट्रेड युनियन कांग्रेसले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानुपूर्व श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिमको बढाएको शुल्क फिर्ता गर्न माग गरेको छ।

श्रमिकको हित विपरीत सरकारको निर्णय भएकाले तत्काल फिर्ता गर्न माग गरेको विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

त्यस्तै कोरिया जाने श्रमिकले एलजीको पोष्टपेड सिम र अनिवार्य अंग्रेजी भाषा उत्तीर्ण गर्नुपर्ने मन्त्रालयको निर्णयको विरोध ट्रेड युनियन कांग्रेसले गरेको छ।

‘साहुको चर्को ब्याज र आफ्नो खेतबारी बन्दकी राखी वैदेशिक रोजगारीमा जान बाध्य युवालाई सहज बनाउनुको सट्टा पूर्वअभिमुखीकरण तालिम शुल्कमा चारगुणा वृद्धि, कोरिया जाने श्रमिकले त्यहाँको प्रिपेड सिम चलाउँदा मासिक पाँच सयले पुग्ने ठाउँमा पोस्टपेड सिम चलाउँदा मासिक चार हजार ८१४ रूपैयाँ पर्ने र थप अंग्रेजी भाषा सिक्न ४० हजार खर्च भार हुने देखिन्छ। सरकारको यस किसिमको निर्णयले नागरिकको घाउमा झनै नुनचुक छर्किएको आभास हामीलाई भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

ट्रेड युनियन कांग्रेसले आफ्ना नागरिकलाई देशभित्र नै मर्यादित रोजगारी सृजना गर्नसमेत राज्यसँग माग गरेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024