बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक कामबाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

18 Jul, 2024

काठमाडौँ — ढाकास्थित नेपाली राजदूतावासले बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै दूतावासले बंगलादेशमा पछिल्लो समय भइरहेको झडप र हिंसात्मक प्रदर्शनलाई मध्यनजर गर्दै विद्यार्थीलाई बाहिन ननिस्कन आग्रह गरेको हो ।

दूतावासको सूचनामा भनिएको छ, ‘बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभए सम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ ।’

बंगलादेशमा सरकारले ल्याएको विशेष आरक्षण विरोधी आन्दोलनमा ६ जनाको मृत्यु भएको छ । सरकारी जागिरमा बंगलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिहरूका छोराछोरीलाई दिइएको आरक्षण विरोधी आन्दोलन हिंसात्मक रूपमा भड्किएको हो ।

‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो । बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारका अनुसार मृत्यु हुनेमा ३ जना विद्यार्थीसमेत छन् । आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिगबीच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भएका छन् ।

छात्र लिग सरकारको योजनाको पक्षमा छ भने बाँकी विद्यार्थी यो आरक्षणले विशेष व्यक्तिहरूलाई मात्र लाभ पुग्ने भन्दै विरोधमा उत्रिएका हुन् । त्यस्तै ठाउँ-ठाउँमा विद्यार्थी र प्रहरीबीच पनि हिंसात्मक झडप भएको छ । झडपमा सयौँ घाइते भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि सरकारले ६ वटा जिल्लामा अर्धसैनिक बल बोर्डर गार्ड बंगलादेश परिचालन गरेको छ । साथै सबै विश्वविद्यालय, क्याम्पस र विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरिएका छन् ।

अवामी लिगकी नेता शेख हसिना गत जनवरीमा भएको आम चुनाव जित्दै चौथो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएकी थिइन् । उनी बंगलादेशी स्वतन्त्रता सेनानी शेख मुजिबर रहमानकी छोरी हुन् । विवाद र प्रतिपक्ष दलको बहिष्कारबीच बंगलादेशमा भएको संसदीय चुनावमा शेख हसिना चौथो पटक लगातार विजयी भएकी हुन् । बंगलादेशको प्रमुख प्रतिपक्ष दल बंगलादेश नेसनलिस्ट पार्टी(बीएनपी)ले चुनाव बहिष्कार गरेको थियो। बीएनपीले धाँधलीपूर्ण तरिकाले गरिएको चुनाव मान्य नहुने बताएको थियो । हसिना नेतृत्वको सरकारले चुनावअघि नै बीएनपीका हजारौँ कार्यकर्तालाई पक्राउ गरेको थियो ।

हसिना पहिलो पटक सन् १९९६ मा बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि २००९ मा उनी पुन: प्रधानमन्त्री बनिन् । त्यसयता लगातार उनी बंगलादेशी सत्तामा रहेकी छिन् । उनले तानाशाही शैलीमा सत्ता चलाएको आरोप लाग्दै आएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024