प्रवास छिर्दाको पीडाः भोट हाल्न मन थियो, मजबुरीले दिएन

30 Apr, 2022

अछाम मंगलसेनका सुरेश परियारलाई मुखमै आइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो ठाउँको जनप्रतिनिधिलाई भोट हाल्न मन थियो। तर, बाध्यताले उनी भोट नहाल्दै भारत हुइँकिएका छन्। शनिबार मुम्बई जान त्रिनगर भन्सार नाकामा भारतीय एसएसवीलाई झोला चेकजाँच गराउँदै गर्दा उनले भने,‘जनप्रतिनिधि छान्ने मन थियो, तर मजबुरीले दिएन, भारत छिर्नै पर्‍यो।’

सुरेशलाई मात्रै हैन चौमालाका नेत्र परियार पनि भोट हाल्ने मन हुँदाहुँदै मुम्बई जानुपर्ने बाध्यता आएको छ। ‘भोट हाल्ने मन हुँदाहुँदै पनि जहान परिवारको पेट पाल्न मुम्बई जानै पर्‍यो,’ नेत्रले भने,‘गाउँ पूरै चुनावमय भइरहेका बेला बाध्यताले परदेशीनु पर्‍यो।’ सुरेश र नेत्र मात्रै हैन, उनीजस्तै अहिले पश्चिमी नाकाबाट दैनिक सयौं नागरिक रोजगारीका लागि भारत गइरहेका छन्।

गहुँ भित्र्याएर रोजगारीका लागि पुनः भारत छिर्न लागेको डोटी बागठाँटाका जय बिकले बताए। उनले भने,‘पाँच वर्षका लागि गाउँ सपार्ने नेता छान्नु पर्ने समयमा परदेशीनु पर्‍यो।’ गहुँ भित्र्याउन उनी दिल्लीबाट एक महिना अघि स्वदेश फर्केका थिए। गहुँ भित्र्याइवरी पुनः दिल्ली फर्केको उनले बताए। ‘उता एक महिनाका लागि बिदा लिएका थिएँ,’ उनले भने,‘यता चुनाव आउनै लाग्दा, उताको बिदाको समय सकिनै लाग्यो, भोट नहालेरै फर्कनु पर्‍यो।’

आफू भारतबाट फर्केर आउँदा गाउँको मुहार फेरिएको देख्ने आशा लिएको बताउँदै उनले भने,‘यसपालि गाउँको विकास गर्ने नेता छान्ने मन थियो, नेता छान्न नपाउँदै फर्कनु पर्‍यो।’ रोजगारीका लागि भारत जानु आफ्नो बाध्यता भएको बताउँदै उनले भने,‘भोट हाल्न नपाइ, भारत जानु मजबुरी हो।’

हिउँदे बाली गहुँ स्याहार्न चौमालाका टीकाराम परियार गत चैतमा घर फर्केका थिए। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्ने मन हुँदा हुँदै पनि उनले शनिबार देशै छाड्नु पर्‍यो। ‘भोट हाल्ने मन थियो, उता लिएको बिदा सकिनै लाग्यो,’ उनले भने,‘मन नलागी नलागी भारत छिर्नु बाध्यता हो।’ अब आउने जनप्रतिनिधिले स्वदेशमै युवाहरुका लागि रोजगारीको व्यवस्था गरिदिए आफूजस्ता हजारौं युवाले परदेशिनु नपर्ने उनले बताए। ‘हुन त जति नेता आए पनि उस्तै हुन्,’ उनले दुःखेसो पोख्दै भने,‘तर पनि अब आउने नेताले परदेशिने युवाहरुका बारेमा सोचिदिए हुन्थ्यो।’

भारत छिर्ने युवाहरुका लागि स्वदेशमै स्वरोजगारका साथै कलकारखाना खुलेमा रोजगारीका लागि प्रशस्त सम्भावना हुने उनी बताउँछन्। ‘स्वदेशमै कलकारखाना भइदिएको भए यहीँ रोजगारी गर्थ्याैं,’ उनले भने,‘चुनावमा पनि विकास गर्ने नेता छानेर भोट हाल्थ्यौँ।’ बाध्यताले चुनावमा भोट हाल्ने रहर पनि लुटिएको उनले बताए। ‘भोट हाल्ने रहर पनि लुटियो,’ उनले भने,‘यो हामी परदेशीहरुका लागि बाध्यता छ।’

देशमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढिरहेका बेला आफूहरुले भोटै नहाली चुनावको मुखमै भारत पस्नु पर्दाको पीडा अथाह रहेको गौरीगंगाका गंगाराम चौधरीले बताए। उनले भने,‘गाउँमा चुनावी प्रचार प्रसारमा दलका कार्यकर्ता जुटेका छन्, बस्ती पूरै चुनावमय बनेको छ, तर आफूले भने घरपरिवार छाडेर मुखैमा आएको निर्वाचनमा भोट हाल्न छाडेर परदेशिनु परेको छ।’

जनता ५ वर्षका लागि आफ्नो बस्ती सपार्ने नेता छान्न आँतुर रहेका बेला भने सुदूरपश्चिमका ग्रामीण बस्तीबाट भोट हाल्न छाडेर आम नागरिक रोजगारीका लागि भारत छिर्दैछन्। अहिले धनगढीको त्रिनगर भन्सार नाकाबाट रोजगारीका लागि भारत जानेको भिड लाग्न थालेको छ।

शनिबार बेलुकीसम्म त्रिनगर भन्सार नाकाबाट ५ सय ४७ जना रोजगारीका लागि भारत छिरेका छन्। भन्सार नाकामा रहेको प्रहरीको तथ्याङ्क अनुसार दैनिक ५ सयभन्दा बढी नागरिक त्रिनगर भन्सार नाकाबाट मात्रै भारत जाने गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024